रोल्पा । उनले जनयुद्धमा बुवा गुमाए । गत वर्ष जीवन संगिनीको एउटा मृगौला गुम्यो । तैपनि एक छोरा र परिवारजनको सुखद भविष्यका लागि भन्दै मनभरि पैसा कमाउने सपना बोकेर उनी दोस्रोपटक साउदी अरब पुगे ।

Santosh-Budha-Magar

सपना उनका लागि सपनामै सीमित रह्यो । माडी गाउँपालिका– ५, भाबाङका २९ वर्षीय सन्तोष बुढामगर अस्वस्थताका कारण तीन महिनामै स्वदेश फर्किन वाध्य भए । र, ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुगे । सन्तोषको परिवार त्यतिबेला छाङ्गाबाट खसेझैं भयो जतिबेला अस्पतालले भनिदियो, ‘ब्लड क्यान्सर भएको पुष्टि भयो ।’

क्यान्सर लागेको पुष्टि भएपछि उपचारका लागि सन्तोषलाई भरतपुर क्यान्सर अस्पताल पु¥याइयो । उनले थाहा पाए, ‘मलाई क्यान्सर भइसकेछ ।’ त्यसबखत उनका हात खुट्टा फतक्कै गले, सपनाहरु गल्र्याम्मै ढले उठ्नै नसक्ने गरी । उनले परिवारका सदस्यहरुसँग भने, ‘म बाँच्छु होला नि ?’ उनको कुराले परिवारका सदस्यको मन भक्कानियो, तर उनको अगाडि आँशु झार्न सकेनन्, सन्तोषको आत्मबल नगिरोस् भनेर ।

बेड नं. २१ मा छटपटाउँदै सन्तोष

सहिदका छोरा सन्तोषलाई उपचारका लागि भरतपुर क्यान्सर अस्पतालको अंकोलोजी विभागको बेड नं. २१ मा भर्ना गरिएको छ । आर्थिक अभावमा रहेका उनको उपचार सुरु भएको छ तर निकै महंगो छ उपचार । उनको बुवा धनीराम बुढामगर जनयुद्धका क्रममा २०५८ पुस १२ गते राज्य पक्षबाट मारिएका थिए । उनको जीवनमा साथ दिन आएकी जीवन संगिनी रसकुमारी बुढाको अघिल्लो वर्ष एउटा मिर्गौला गुम्यो । उपचारमा झण्डै ५ लाख खर्च भयो ।

आर्थिक अभाव भोगिरहेको परिवारको घरमुली सन्तोषलाई नै ब्लड क्यान्सर भएपछि ठूलो बज्रपात आइलागेको छ । ब्लड क्यान्सरले छट्पटाइरहेका सन्तोषलाई बेडको छेउँमा बसेर उनै मिर्गौलापीडित जीवन संगिनीले साथ दिइरहेकी छन् ।

सन्तोष अहिले आर्थिक सहयोगको अपेक्षामा छन् । आर्थिक सहयोग भए पूर्ण उपचार पाउने र बाँच्ने आशा उनीमा छ । ‘सन्तोषको परिवारको आर्थिक अवस्था नाजुक छ,’ माडी गाउँपालिका–५, भाबाङका वडाअध्यक्ष भरत बुढामगरले भने ‘उहाँलाई हामी सबैको सहयोगको खाँचो छ ।’

विदेशबाट तीन महिनामै फिर्ता

सन्तोषले यसअघि पनि विदेश गएर केही वर्ष मजदूरी गरिसकेका छन् । विदेश जाँदा आवश्यक स्वास्थ्य परीक्षण लगायतका सबै प्रक्रिया पु¥याएर तीन महिना अघि उनी पुनः साउदी अरब पुगे ।

तर, साउदी पुगेर काममा खटिँदै गर्दा हातखुट्टा दुख्ने, ज्वरो आउनेजस्ता समस्या बल्झिँदै गयो । सन्तोष दैनिक बिरामी हुन थालेपछि कम्पनीले उनलाई नेपाल फिर्ता पठायो । ‘कम्पनीले केही नभनेर नेपाल पठायो, काम गर्न नसक्ने अवस्था भएपछि राख्ने कुरा पनि भएन’ पीडित सन्तोष भन्छन् ‘बिरामीले झन् च्याप्दै लगेपछि काठमाडौं आउनुवित्तिकै उपचार गराएँ, ब्लड क्यान्सर देखियो ।’

थपिँदै ऋणको भारी, उपचार महङ्गो

सन्तोष विदेश जाँदा १ लाख खर्चिएका थिए । त्यो रकम नतिर्दै उनको स्वास्थ्यमा समस्या आयो । विदेश जाँदाको ऋण एकातिर बाँकी रह्यो भने अस्पतालमा औषधोपचारमा मात्रै नियमित खर्च थपिँदै गयो ।

सन्तोषको उपचार निकै महंगो हुने भएको छ । उनका आफन्तका अनुसार सन्तोषलाई उपचारका क्रममा कम्तिमा ७ वटा किमो चढाउनुपर्नेछ । १ किमो चढाइसकिएको छ । ‘एउटा किमोको २ लाख छ । ७ किमो चढाउँदा १४ लाख त किमोमै लाग्ने भएको छ’, उनका परिवारका एक सदस्यले भने, ‘थप छ महिना अस्पताल बस्नुपर्दा सन्तोषको उपचारका लागि २० लाखले नपुग्ने भएको छ ।’ सन्तोषलाई अस्पतालले ६ महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको छ ।

सन्तोषकी पत्नीले आफ्नो श्रीमानको जीवनरक्षाका लागि सहयोगको अपेक्षा गरेकी छिन् । ‘हाम्रो घरको आर्थिक अवस्थाले उहाँ (सन्तोष)को उपचार गर्न सक्दैनौँ । २० लाख रुपियाँ हामीसँग हुने कुरै भएन’, उनले भनिन्, ‘उहाँको उपचारका लागि सहयोगको अपेक्षा गरेका छौँ ।’

सहयोगी हात बढ्दै

सन्तोषको उपचारका लागि विभिन्न पक्ष सहयोगी बन्न थालेका छन् । रोल्पा–काठमाडौं जनसम्पर्क मञ्चले संस्थागत निर्णय गरेर सहयोग जुटाउन थालेको छ । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा समाजसेवी उपराष्ट्रपतिका छोरा दिपेश पुनले सहयोग अभियान सुरु गर्न लागेका छन् ।

रोल्पा घर भई प्रवासका विभिन्न ठाउँमा रहेका नेपालीहरुले सहयोगका लागि पहल गरिरहेका छन् । मलेसियामा रहेका रोल्पाली युवाहरुले ‘मनकारी कोष माडी–५, भाबाङ’ च्याट ग्रुप बनाएर सहयोग संकलन गरिरहेका छन् ।

सहयोग संकलनका लागि बैंक खाता सञ्चालन

भाबाङ रोल्पाका वडाअध्यक्ष भरतबहादुर बुढामगरका अनुसार वडा कार्यालयकै पहलमा ग्लोबल बैंकमा खाता खोलिएको बताए । ‘पीडितका जेठान अमृतबहादुर घर्तीको नाममा खाता खोलिदिएका छौं’ अध्यक्ष बुढाले भने ‘जम्मा भएको सबै रकम सार्वजनिक गर्दै पीडितको उपचारार्थ खर्चिने छौं ।’

ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरलाई आर्थिक सहयोगका लागि ग्लोबल बैंकको लिबाङ शाखामा ३३०९०१११५०२७२ नं. को खाता खोलिएको बुढाले बताए ।