इन्द्रेणी संवाददाता
दाङ, २० माघ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी जनउत्तरदायित्वको विषयमा गम्भीर रहेको बताएका छन् । नेपाल प्रहरीले जनताको शान्ति सुरक्षामा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै त्यसमा पनि नेपाल प्रहरी गम्भीर भएको बताए ।

parkasनेपाल पत्रकार महासंघ दाङ र नागरिक समाज दाङले आज शनिवार दाङको घोराहीमा आयोजना गरेको भेटघाट एवं अभिनन्दन कार्यक्रममा महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । नेपाल प्रहरीको प्रमुखको हिसावले ७७ वटै जिल्लालाई समान रुपमा हेर्ने आफ्नो दायित्व भएको भन्दै दाङका केही ठूलो घटनाको विशेष अनुसन्धान भइरहेको बताए ।

उनले दाङमा नेपाल प्रहरीको प्रदेश कार्यालय स्थापना भइसकेकाले तत्काल यसलाई अनेत्रै सार्ने अवस्थामा नरहेको बताए । प्रदेश मुकाम तोक्ने काम सरकारको भएकाले अहिले सरकारले वुटवललाई प्रदेश ५ को अस्थायी मुकाम तोके पनि प्रहरीको प्रदेश कार्यालयका लागि लगानी भइसकेकाले तत्काल कार्यालय नसर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण महासंघका सचिव भुपेन्द्र वलीले गरेका थिए ।