इन्द्रेणी संवाददाता
बाँके, १७ माघ । नेपालगञ्ज विमानस्थलको राँजा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् ।
धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए ।
उनका अनुसार विमानस्थलको धावनमार्ग, जहाज पार्किङस्थल, ट्याक्सी वेलगायत स्थानमा एक तह थपेर कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग कालोपत्रे गरिने भएपछि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र विमानस्थल खुला रहनेछ । झण्डै १२ वर्षपछि विमानस्थलमा कालोपत्रे गर्न लागिएको हो । नियमानुसार पाँच र छ वर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने हुन्छ ।
