काठमाडौं, ११ माघ । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालिम दिने भएको छ ।
आर्थिकरुपमा विपन्न युवालाई परिचालन गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालिम दिन थालिएको हो । परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालिम दिन थालेको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए । ‘रोजगार युवालाई स्वरोजगार बनाउनका लागि तालिम सञ्चालन गर्न थालिएका हो’, उनले भने, ‘तालिमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने छ ।’
परियोजनाले प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त संस्थामार्फत तालिम दिनेछ । इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालिम प्रदान गर्ने परियोजनाका उपसचिव सुजनराज खनालले बताए । उनले परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालिमका लागि आह्वान गर्ने बताए । सूचना निस्केपछि आफूले चाहेको विषयमा तालिम लिनका लागि दरखास्त दिनसक्ने छन् ।











