इन्द्रेणी संवाददाता
दाङ, ११ माघ । प्रदेश नम्बर पाँचमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको तीन महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । संबैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका लागि प्रत्यक प्रदेशबाट तीन जना महिला उम्मेदवार अनिवार्य निर्वाचित हुनुपर्ने प्राव्धानअनुसार प्रदेश नं. ५ मा महिला उम्मेदवार तीन जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्विरोध भएका हुन् ।

photo Dangयसरी निर्विरोध हुनेमा एमालेका तर्फबाट कोमल वली र मिना वुढा र नेपाली काग्रेसका तर्फबाट अनिता देवकोटा रहेका छन् । यसरी निर्विरोध भएकाहरुको औपचारिक घोषणा भने १५ गते हुनेछ ।

यसैगरी उम्मेदवारी दर्ताकै दिन प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध भएका छन् । १७ सिटमा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन् ।

प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् ।