दाङ । साविकको घोराही नगरपालिका क्षेत्रलाई समेट्ने गरी प्रस्ताव गरिएको घोराही चक्रपथ योजनाले दश वर्ष बितिसक्दा समेत कुनै गति लिन सकेको छैन । आर्थिक वर्ष २०६४/०६५ को १३औं नगरपरिषद्ले नीतिगत रुपमा नगरपालिकाले सबै वडालाई समेट्ने गरी चक्रपथ योजना अघि सारेको थियो । तर, दश वर्ष बितिसक्दा समेत चक्रपथ निर्माणको कामले गति लिन सकेन ।
पटक–पटक हुने कार्यकारी अधिकृतको सरुवा र सर्वदलीय बैठकमा प्रतिनिधित्व गर्ने नेताहरुको फेरबदलले चक्रपथको काम अलमलमै रहेको थियो । २१ औं नगरपरिषद्सम्म चक्रपथ निर्माणका लागि बजेट विनियोजन हुँदै आएको थियो । तर, नगरपालिकाको क्षेत्र विस्तार भएर उप महानगरपालिकामा परिणत भए पछि प्रस्तावित चक्रपथ अध्ययनको काम नै रोकिएको छ ।
उपमहानगरपालिकामा जनप्रतिनिधिहरु आएपछि चक्रपथको पुरानो अध्ययनलाई नै खारेज गरिदिएका छन् । ‘साविकको नगरपालिकाको क्षेत्र विस्तार भएर उप–महानगरपालिका भइसकेको छ,’ घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले भने, ‘अब नयाँ विस्तारित क्षेत्रसहित तुलसीपुर उप–महानगरपालिकालाई पनि समेटेर चक्रपथ निर्माण गर्नुपर्ने छ ।’
यस विषयमा आफूले तुलसीपुर उप–महानगरपालिकाका मेयर घनश्याम पाण्डेयसँग समेत कुरा गरिसकेको उनले जानकारी दिए । दश वर्ष पहिले चक्रपथ निर्माणको कुल लागत एघार अर्ब रुपैयाँ अनुमान गरिएको थियो । चक्रपथ निर्माण गर्ने क्षेत्र बढ्नुका साथै महंगीसमेत धेरै बढेकाले चक्रपथ निर्माणको लागत कैयां गुणा बढ्ने अनुमान गरिएको छ ।
तत्कालीन नगरपालिकाले पाँच वर्षअघिदेखि चक्रपथको ट्रयाक खोल्न शुरु गरेको थियो । तर, ५ सय मिटर ट्रयाक खोली नसक्दै स्थानीय उपभोक्ताले अदालतमा मुद्दा दायर गरेपछि काम रोकिएको थियो ।
अदालतले ५१ प्रतिशत उपभोक्ताहरुको सहमति खोजेको छ, तर अन्तिमसम्म उपभोक्ताहरुको सहमति जुट्न सकेको थिएन । एकातर्फ उपभोक्ताहरुको सहमति नजुट्नु र अर्कोतर्फ उप–महानगरको क्षेत्र विस्तार हुँदा प्रस्तावित चक्रपथ नबन्ने निश्चित जस्तो भएको छ ।
उप–महानगरपालिको सन्तुलित विकासका लागि चक्रपथ अपरिहार्य भएको मेयर चौधरीले बताए । ‘हामीले विकासको कामलाई गाउँ तहसम्म पु¥याउनुपर्ने छ,’ उनले भने, ‘चक्रपथमार्फत् बजार क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड्नुपर्ने छ ।’
नयाँ जनप्रतिनिधिहरुले पुरानो अध्ययनको चक्रपथलाई नबनाउने जानकारी दिएपछि स्थानीय दुःखी भएका छन् । स्थानीय सोमलाल बस्नेतले साविकको प्रस्तावित चक्रपथलाई जसरी भए पनि बनाउनुपर्ने बताउँछन् ।
‘बरु बाहिरी र भित्री चक्रपथको अवधारणा ल्याउन सकिन्छ, यसरी विकास निर्माणमा अलमल गर्नु राम्रो होइन,’ उनले भने, ‘फेरि पाँच वर्षपछि नयाँ जनप्रतिनिधि आउलान्, उनीहरुले अर्कै योजना ल्याए भने के हुन्छ ? यसरी विकास निर्माणको काममा खेलवाड गर्न पाइदैन ।’ आजको जनउभार साप्ताहिकमा पाण्डव शर्माले खबर लेखेका छन् ।