वीरेन्द्रनगर, २ माघ । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने कामले तीव्रता लिएको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले हालसम्म करीब १ हजार ३ सय ३५ मिटर सुरुङ खनिइसकिएको जानकारी दिए ।

veri babaiसुरुङको लम्बाइ १२ किलोमिटर रहेको छ । सो सुरुङ तयार गर्न २ वर्ष लाग्ने आयोजनाले बताएको छ । प्रदेश नं। ५ र ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनाको निर्माण कार्य तोकिएको समयभन्दा पहिले नै सक्ने उनले दाबी गरे । सिँचाइ विभाग र कोभेकबीच उक्त आयोजना २०७१ माघमा निर्माण थाली २०७५ फागुनमा सक्ने सम्झौता भएको थियो । सम्झौतामा डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्नुपर्ने उल्लेख भए पनि हालसम्म १२ प्रतिशतमात्र सुरुङ खनिएको छ ।

टनेल बोरिङ मेशिन टीबीएम पहाड फोर्न प्रयोग हुने चालकरहितको अत्याधुनिक प्रविधिको मेशिनबाट अहिले सुरुङ खन्ने काम भइरहेको छ । नेपालमै पहिलोपटक मेशिनबाट सुरुङ खन्ने काम गरिएको हो । भेरी र बबई नदीबीचको चुरे पर्वत खन्न उक्त मेशिनको प्रयोग भइरहेको छ । सुर्खेतको भेरी–गङ्गा नगरपालिकाको छिञ्चु–जाजरकोट सडकखण्डको चिप्ले भन्ने स्थानमा १५ मिटर अग्लो बाँध बनाई सुरुङमार्फत भेरी नदीको प्रतिसेकेण्ड ४० घनमिटर पानीलाई बबईमा लगिनेछ ।