इन्द्रेणी संवाददाता
काठमाडौं, २८ पुस । वरिष्ठ नेता कृष्णबहादुर महरा  नेतृत्वमा उपप्रधानमन्त्रीसहित नौ मन्त्री र नौ राज्यमन्त्री लिएर काग्रेस गठबन्धनको सरकारमा रहेको माओवादी केन्द्र आज सरकारबाट वाहिरिने भएको छ ।

mahara. विहीबार वेलुकानै आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाउने भने पनि केन्द्रले आज शुक्रबार मात्रै फिर्ता बोलाउने र आजै प्रधानमन्त्रीलाई सरकारबाट बाहिरिएको जानकारी दिने तयारी गरेको छ ।

माओवादी मन्त्रीहरूले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सामूहिक राजीनामा दिने तयारी गरेका थिए । तर, केही मन्त्री उपत्यकाबाहिर रहेकाले सम्भव हुन सकेन । पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले शुक्रबार पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।

माओवादी केन्द्र र एमालेबीच चुनावी गठबन्धन बनेपछि माओवादी मन्त्रीहरूको राजीनामाको विषय पटकपटक चर्चामा आएको थियो । माओवादी केन्द्रले निर्वाचनअगावै राजीनामा दिने तयारी गरे पनि प्रधानमन्त्री देउवाले निर्वाचन नगराउने खेल गरेको भन्दै निर्वाचनको सुनिश्चितताका निम्ति सरकारमै रहने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न र प्रदेश सरकारको प्रक्रियाका लागि सहज होस् भनेर राजीनामा दिन जान लागेको जनाएको छ ।