काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग ५० प्रतिशत ‘पावर’ लिएर मात्र पार्टी एकता हुने बताएका छन् । माओवादी हेडक्वार्टरको मंगलबार खुमलटारमा बसेको विस्तारित बैठकमा प्रचण्डले एमालेसँग ५०(५० प्रतिशत ‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने ‘ब्रिफिङ’ गरेको नेता गणेश शाहले जानकारी दिए ।

Kp-Prachand‘प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई स्वीकार गरिसकेका छौँ । उनलाई पाँच वर्षसम्म प्रधामन्त्रीका रूपमा काम गर्न दिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शाहले भने, ‘संयुक्त पार्टी अध्यक्षका रूपमा मैले पाँच वर्ष नेतृत्व गर्छु । यस्तो भएमा पावर सेयरिङमा पनि ५०(५० प्रतिशत हुन्छ । दुई पार्टीको सम्मानजनक एकता पनि हुन्छ ।’

अध्यक्षसहितको एकता संयोजन समितिको बैठक बस्ने
बैठकमा प्रचण्डले चाँडै एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन बैठक बस्ने जानकारी दिए । ‘मैले केही दिनअघिदेखि ओलीजीसँग छलफल गर्न खोजेको थिएँ, स्वास्थ्यका कारण छलफल हुन पाएको छैन । बुधबार एकता संयोजन समितिको बैठक बस्छ,’ प्रचण्डले भने, ‘दुई पार्टीको अध्यक्षसहितको पावर सेयरिङ, शीर्ष नेताको व्यवस्थापन र समग्र पार्टी एकताको विषयमा छलफल गर्छौँ ।’

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, माओवादी नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको विषयमा पनि एकता संयोजन समिति बैठकमा छलफलले प्रवेश पाउने भएको छ । एमाले–माओवादी एकता जनताबाट अनुमोदन भइसकेकाले जसरी पनि एकता हुने प्रचण्डले उल्लेख गरेको थिए । पर्याप्त गृहकार्य नपुगेकाले पार्टी एकताको विषयमा ठोस खाकासहित प्रगति हुन नसकेको शीर्ष नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए।

अध्यादेशका विषयमा पनि ब्रिफिङ
राष्ट्रिय सभासम्बन्धी अध्यादेशका विषयमा प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । ‘राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भयो । एकल संक्रमणीयको पक्षमा सहमति भई राष्ट्रपतिबाट स्वीकृत भएको छ । यसमा हामीले सकारात्मक भूमिका खेल्यौँ । यस विषयमा बाहिर पनि सकारात्मक सन्देश गएको छ,’ प्रचण्डको भनाइ थियो । प्रदेश राजधानी र प्रदेश प्रमुखको नियुक्ति कांग्रेसले एमाले र माओवादीसँग सहमतिमै घोषणा गर्ने प्रचण्डले बताएका थिए ।

सैद्धान्तिक विषयलाई बिस्तारै मिलाउँदै जाने
प्रचण्डले एमालेको ‘बहुदलीय जनवाद’ र माओवादीको ‘२१औँ शताब्दीको जनवाद’लाई बिस्तारै छलफल गर्दै टुंग्याउने जानकारी गराएको बैठकमा सहभागी नेता मणि थापाले बताए । ‘आगामी कार्यदिशा कुनै बल प्रयोग नभई शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा हुन्छ,’ थापाले भने, ‘संविधानमै समाजवादउन्मुख उल्लेख भएकाले सोहीअनुसार कार्यदिशा तय हुन सक्छ ।’ तत्कालीन मालेको झापा विद्रोह र माओवादी जनयुद्धका विषयलाई उच्च मूल्यांकन गरिने थापाले बताए ।

निर्वाचनमा भएको अन्तर्घातको छानबिन हुने
माओवादीले प्रतिनिधिसभा र प्रदेश सभामा भएको अन्तर्घातबारे छानबिन गर्ने भएको छ । नेता अमिक शेरचनको संयोजकत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, रेखा शर्मा र हितराज पाण्डे सदस्य छन् । समितिलाई सात दिनको समय दिइएको छ । एमालेसँग तालमेल गरी निर्वाचनमा गएको माओवादीमा आफ्नै पार्टी नेताले उजुरी दिएपछि छानबिन समिति गठन भएको हो । अहिलेसम्म हुम्ला, पर्सा, सल्यान, गोरखा, सिरहा, धनुषा, कैलाली, कञ्चनपुर, दैलेख, खोटाङलगायत जिल्लामा अन्तर्घात भएको भन्दै उजुरी परेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

विभिन्न समूहबाट ध्रुवीकरण हुँदै माओवादीमा आएका नेता–कार्यकर्ता संगठनात्मक व्यवस्थापन गर्न रामबहादुर थापा बादलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, लेखराज भट्ट, मातृका यादव, सावित्रीकुमार काफ्ले र सुनील मानन्धर सदस्य छन् । नयाँ पत्रिकाबाट