काठमाण्डौ, ६ असार
नेपाली फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या उनकै प्रेमी आशिष चौधरीले गरेको प्रहरीले निश्कर्ष निकालेको छ ।नवलपरासी प्रहरीले मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
२१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले आशिषविरुद्ध आज नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्न लागेको छ ।
मनिषाको हत्या आशिषले गरेको अनुसन्धाले देखाएकाले कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक प्रकाश सापकोटाले वताउनुभयो । उनले घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो, मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिदैछ ।
प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । साथै, मनिषाको मृत्युको अनुसन्धानमा प्रहरीले आशिषको पोलिग्राफ परिक्षण समेत गरेको थियो ।।