काठमाडौं, १६ पुस। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इ सुटुक्क प्रचण्ड निवास पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । भटराई हिसिला यमीलाई लिएर आइतवार विहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
विहान १० बजे भएको भेटमा समसामायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । अहिलेको राजनीतिक घटनाक्रम र अब बन्ने नयाँ सरकारको विषयमा छलफल भएको स्रोत जानकारी दिएको छ । खबरडबलीलाई प्राप्त जानकारी अनुसार अब बन्ने सरकारमा भट्टराई पनि सहभागि हुन चाहेको भेटमा छलफल भएको थियो ।
हिसिला र सीताबीच छुट्टै कुराकानी
बाबुराम र प्रचण्डले भेटवार्ता गर्दै गर्दा हिसिलाले सीतासँग छुट्टै भेट गरेकी छिन्। सीता र हिसिलाले पाँच मिनेट छुट्टै बसेर कुराकानी गरेका हुन्। पुत्र प्रकाश दाहालको आकस्मिक निधन हुँदा यमी चुनावी प्रचारका क्रममा गोरखामा थिइन्। प्रकाशको निधनपछि यमीले सीतालाई पहिलो पटक भेटेकी हुन्।
‘सीता भाउजूसँग भेट नभएको धेरै भएको थियो। छोरा प्रकाश बितेको समयमा हामी गोरखामा थियौं, बाबुराम हेलिकोप्टरमा आउनुभयो’, यमीले भनिन्, ‘म आउन सकिनँ। आज भेटेर कुराकानी गरेँ।’ भेटमा सीता भावुक भएपछि पाँच मिनेट मात्र कुरा गरेको यमीले सुनाइन्।










