केएल पीडित

जीवनको आरोह अवरोहमा आशाले धेरै कुरा छोडिन् होला तर नृत्यलाई भने उनले कहिल्यै छोडिनन् । नृत्यप्रति उनको गजबको मोह र लगाव छ । उनको लागि नृत्य एक पूजा हो । अझ भन्नु पर्दा नृत्य उनको जीवन हो ।

received_1707079816009068

नृत्य मेरो जीवन हो । नृत्य मेरो पूजा हो । साधना हो । म अरु छोड्न सक्छु तर नृत्य छोड्न सक्दैन । नृत्यले नै मलाई यो जीवन दिएको छ । आशाले आफ्नो नृत्यमोह यसरी व्यक्त गरिन् ।

घोराही १४ नयाँबजारकी आशा सानैदेखि नृत्यमा रुचि राख्थिन् । गाउँघर र विद्यायलयमा हुने साँस्कृतिक कार्यक्रममा उनी प्रायः सधैं नृत्य गर्थिन् । उनको आकर्षक नृत्यले सबैलाई लोभ्याउँथे । आमाबुवा, छरछिमेक र गुरुहरुले पनि उनलाई बरोबर हौसला दिन्थे । उनीहरुको हौसलाले आशाको नृत्यमोह झन् बढ्दै गयो । उमेर बढ्दै जाँदा उनले नृत्यको प्रशिक्षण पनि लिन थालिन् र जिल्ला एवं राष्ट्रियस्तरका नृत्य प्रतियोगितामा भाग लिन थालिन् । उनी प्रायः सबै प्रतियोगिताहरुमा उत्कृष्ट ठहरिन् ।

हरि केसी र माधवी केसीकी माइली छोरी आशा अहिले दाङमा नृत्य प्रशिक्षकको रुपमा चिनिन्छन् । गुरुकुल एकेडमी र उत्सर्ग कलाकेन्द्रमा उनी प्रशिक्षकको रुपमा कार्यरत छिन् । यस अघि आस्था कलाकेन्द्र र एम.डि.आइ.मा पनि उनले नृत्य प्रशिक्षकको रुपमा कार्य गरिसकेकी छिन् । दाङका बरिष्ठ नृत्य प्रशिक्षक म्याक्स सर (महेन्द्र जीसी) संग उनले एरोबिकको प्रशिक्षण लिएकी हुन् । अहिले उनी जिल्लामा कुशल एरोबिक प्रशिक्षकमा गनिन्छिन् ।

उनको पूरा नाम आशा केसी हो । व्यवसायी राजेश खड्कासंग बिबाह गरेपछि उनले केसीसंग खड्का थर पनि जोडेकी छिन् । अर्थात् अब उनी आशा केसी खड्का भएकी छिन् । उनका पति राजेश तुलसीपुर ट्याक्सी व्वयसायी समितिको घोराही इञ्चार्ज हुन् । पेशा फरक भए पनि पति राजेशको उनलाई सधैं साथ र सहयोग छ ।

आशा एक कुशल मोडल पनि हुन् । चलचित्रकर्मी गहेन्द्र बस्नेतले निर्देशन गरेको चलचित्र वियोगको एक गीतमा आशाले नृत्य गरेकी छिन् । गायिका ज्योति मगरको निको छैन चालमा पनि उनले मोडलिङ गरेकी छिन् । नृत्यमा पारंगत आशा हेर्दा जति हँसिली र सुन्दर छिन् व्यवहारमा पनि उत्तिकै मिजासिली, सरल, इमान्दार, मृदुभाषी छिन् । पछिल्लो समय एरोबिक प्रक्षिणमा व्यस्त आशा नेपाली लोकनृत्य झ्याउरे, टप्पा, मारुनी, कौडा र थारु नृत्यमा निकै पारंगत छिन् ।