काठमाडौं, १४ पुस । मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहीन वस्तु उत्पादन गरेर विक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारबाही गर्ने भएको छ ।
मानसिले खान नहुने ९अखाद्य० वस्तु उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगका लगानीकर्तालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो ।
‘खाद्य तथा पेय पदार्थमा अखाद्य वस्तु मिसावट गरी विक्री वितरण गरेकाले उपभोक्ताको स्वास्थ्यपूर्वक बाँच्न पाउने अधिकारलाई खलल पुर्याएको कसुरमा मुद्दा दर्ता गरेका हौँ’– विभागका प्रवक्त पूर्णचन्द्र वस्तीले भने । बढी नाफा आर्जन गर्ने उद्देश्यले मानव जीवनको स्वास्थ्यमा खेलबाड गरी अखाद्य वस्तु उत्पादन तथा विक्री वितरण गर्ने ५० उद्योग तथा फार्मलाई खाद्य ऐन २०२३ अनुसार कारबाही गरिने भएको हो ।
सबैभन्दा धेरै अखाद्य वस्तु उत्पादन गर्नेमा काठमाडौं जिल्ला रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले साउनदेखि कात्तिक मसान्तसम्म बजार अनुगमन गरी तयार पारेको उक्त प्रतिवेदनमा काठमाडौं जिल्ला सबैभन्दा धेरै अखाद्य वस्तु उत्पादन गर्ने जिल्लामा गणना भएको छ ।
काठमाडौं जिल्लाका ड्रिकिङ वाटर प्राली, युनिक उद्योग कालिमाटी, गोपीकृष्ण उद्योग, बालाजु, स्वस्तिक आयल इन्डष्ट्रिज, सुजल डेरी प्राली, काठमाडौं डेरी प्राली, स्तूपा इन्डष्ट्रिज सुन्दरीजल, श्रीराम घ्यू प्याकेजिङ उद्योग चापागाउँ, दुग्ध विकास संस्थान बालाजु र गौतम स्विट्स न्यूरोड अखाद्य वस्तु उत्पादन गर्ने उद्योगमा परेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी प्रतिवेदनमा ललितपुरमा चार र भक्तपुरमा तीन उद्योगले उपभोक्ताको हितलाई बेवास्ता गर्दै दूषित, न्यून गुणस्तरयुक्त वस्तु उत्पादन गरी विक्री वितरणमा ल्याएका छन् । ललितपुरस्थित नेपाल र मिल्कमाण्डु डेरी प्राली, नन्दन मिठाइ भण्डार, किसान दाना उद्योग र भक्तपुरस्थित शङ्खधर मिठाइ पसल, संजिवनी डेरी प्राली र नेचुरल स्प्रिङ वाटर झौखेलले न्यून तथा गुणस्तरहिन खाद्यवस्तुको उत्पादन तथा विक्री वितरण गरेको उल्लेख छ ।
उपत्यकाका तीन जिल्लाबाहेक बारा र रुपन्देहीमा सात, मकवानपुर पाँच, सर्लाही र कञ्चनपुरमा तीन, झापा र बाँकेमा दुई, सुनसरी, दाङ, बझाङ र कास्कीका एक एक उद्योगलाई समेत अभियोग लगाई सम्बन्धित जिल्लामा मुद्दा दर्ता गरिएको छ ।
दर्ता गरिएका मुद्दामा सबैभन्दा बढी तेल तथा तेलजन्य १३, खाद्यान्न दलहन र सोबाट बनेका खाद्य पदार्थ १०, दुग्ध तथा दुग्ध पदार्थ नौ, प्रशोधित पिउने पानी चार, फलपूmल तथा सोबाट बनेका पदार्थ तीन, मिठाइ तीन र अन्य खाद्य पदार्थमा ६१ प्रतिशत उद्योगबाट उत्पादन गरिएका वस्तु अखाद्य भेटिएका हुन् । रासस










