दाङ, ११ पुस । विश्वकै अग्लो त्रिशूल भएको दाङको धारापानीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न करीब ७० करोडको गुरुयोजना बनाइएको छ । त्यहाँस्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्था समितिले धारापानीलाई आगामी १० वर्षभित्रमा नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सो योजना बनाएको हो ।
झण्डै २ वर्ष पहिले विश्वकै अग्लो त्रिशूल निर्माण भएको पाण्डवेश्वर महादेव मन्दिरलगायत सो क्षेत्रलाई व्यवस्थित गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो योजना अघि सारिएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । ‘हामीले ठूलो योजनाका साथ करीब ७० करोड रुपैयाँबराबरको गुरुयोजना बनाएका छौं, सो अनुसार काम पनि शुरू भइसकेको छ,’ उनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेको अबको १० वर्षभित्र यो क्षेत्रलाई नेपालकै एउटा मुख्य धार्मिक पर्यटकीय गन्तव्य बनाउने हो ।’
गुरुयोजनाअनुसार अहिले ॐ कुण्ड निर्माण, १ सय ८ गौमुखी धारा निर्माण, १ सय ८ शिवलिङ्ग निर्माण, १ हजार ८ सय जोडा वरपिपल लगाउने काम भइसकेका छन् । सरकारी निकायबाट २० करोड र दाताहरूबाट ५० करोड सङ्कलन गरेर पूर्वाधार निर्माण गरिने योजनामा उल्लेख छ । हरेक महीना नयाँ संरचना निर्माण गर्दै लैजाने बताउँदै आचार्यले मुख्य मन्दिरको २ हजार ६ सय मिटरको उचाइमा रहेको भग्नावशेष मन्दिरलाई जीर्णोद्वार गर्नुका साथै उक्त मन्दिर परिसरमा ३१ क्विण्टलको घण्ट राख्ने, मन्दिरमा पुग्न ४ हजार ९ सय ६३ खुट्किलाको भर्याङ बनाउने गुरुयोजनामा रहेको बताए ।
यसअघि पनि सरकारी लगानीभन्दा बढी दाताको सहयोगबाट विभिन्न पूर्वाधार निर्माण भएकाले अब पनि दाताको सहयोगबाट धेरैभन्दा धेरै पूर्वाधार निर्माण हुने उनको भनाइ छ । सरकारी निकायको सहयोगमा २० करोड रुपैयाँ सङ्कलन गरी ताल, पार्क र भ्यूटावर निर्माण गर्ने गुरुयोजना बनाइएको छ । अहिले पनि धारापानीमा दैनिक २ हजारको हाराहारीमा पर्यटक जाने गरेको मन्दिर व्यवस्थापन समितिको दाबी छ ।
दाङ सदरमुकाम घोराहीबाट करीब ७ किलोमिटर दक्षिणमा रहेको धारापानी यस क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ हरेक वर्ष शिवरात्रीको दिन ५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ ।
उदय बीसी /अभियान दैनिक










