रुकुम, ७ पुस । कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले रुकुमका गृहिणीहरूलाई लक्षित गरी पोषण शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले रुकुमका गाउँ–गाउँमा महिलाहरूलाई पोषण शिक्षा दिन थालिएको हो ।

mother-childपूर्वी रुकुम र पश्चिम रुकुमका ग्रामीण क्षेत्रमा पोषण शिक्षा कार्यक्रम सञ्चालन गरिएको रुकुमेलली समाज विकास केन्द्रले बताएको छ । यूएसआईडीको आर्थिक सहयोग र केन्द्रको सहजीकरणमा सञ्चालित सुआहारा कार्यक्रममार्फत पोषण शिक्षा प्रदान गर्न लागिएको जानकारी संस्थाले दिएको छ ।

पोषण शिक्षाअन्तर्गत पोषणयुक्त खानेकुरा, सरसफाइसम्बन्धी जानकारीका साथै करेसाबारी निर्माण गर्ने तरीकासमेत सिकाइन्छ । यस्तै, गर्भवती महिलाले आइरन चक्की खानुपर्ने, कम्तीमा चारपटक गर्भजाँच गर्नुपर्ने र परिवार नियोजनका अस्थायी एवम् स्थायी साधनको बारेमा समेत जानकारी गराइने रुकुमेली समाज विकास केन्द्र सुआहारा कार्यक्रमको फिल्ड संयोजक सीता खड्काले बताइन् ।

‘जिल्लामा ३ सय ८७ ओटा आमा समूहलाई पोषण शिक्षाको बारेमा जानकारी गराइएको छ,’ उनले भनिन् । उनका अनुसार विशेषगरी ‘सुनौला हजार दिन’ कार्यक्रमअन्तर्गत महिलाको पोषण अवस्था कमजोर नहोस् नहोस् भनेर कुखुरा वितरण पनि गरिने भएको छ । चालू आर्थिक वर्षमा २ हजार ३ सय ६२ जना आमालाई प्रतिव्यक्ति पाँचओटाका दरले कुखुरा वितरण गर्ने कार्यक्रम रहेको छ ।