काठमाडौं, । नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । नापी विभागले बुधवार पत्रकार सम्मेलन गरी १२ ओटा विन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए ।
यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८ सय ४८ मिटरलाई मान्दै आएको छ ।
विभागले सगरमाथाको उचाइ मापन गर्न बनाइएको कार्यविधिलाई अन्तिम रुप दिन यही मङ्सिर २५ र २६ गते अन्तरराष्ट्रिय गोष्ठीको आयोजनासमेत गरेको थियो ।
त्रुटिपूर्ण नक्सा प्रकाशन र प्रसारण नगर्न आग्रह
विभागले नेपालको नक्सालाई त्रुटिरहित ढङ्गले प्रकाशन र प्रसारण गर्न व्यक्ति तथा सञ्चारमाध्यमसँग आग्रह गरेको छ । त्रुटिपूर्णरुपमा प्रकाशन, प्रसारण गर्दा छिमेकी मुलुकले सीमा स्तम्भलाई मिच्नसक्ने भन्दै विभागले आफूले जारी गरेको आधिकारिक नक्सा प्रयोग गर्न आग्रह गरेको हो ।
विभागले आधिकारिक नक्सा प्रयोग नगर्ने व्यक्ति वा सञ्चारमाध्यमलाई नाप जाँच ऐन २०१९ बमोजिम रू २० हजार जरिवाना र प्रकाशन सामग्री जफत गर्ने बताएको छ । रासस










