नवीन अभिलाषी
दाङ, ४ पुस । दाङको घोराही स्थित कटुवा खोलामा हाईड्याम निर्माण गर्ने योजनाका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । खानेपानी तथा ढल निकास विभागले घोराहीको कटुवा खोलामा हाईड्याम निर्माण गर्ने बारे सम्भाब्यता अध्ययन सुरु गरेको हो ।
बढ्दो शहरीकरण मानिसहरुको बाक्लिदो बसोबास तर खानेपानीको घट्दो आपुर्तिलाई मध्यनजर गर्दै घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पहलमा कटुवा खोलामा हाईड्याम निर्माण गर्नका लागि अध्ययन सुरु भएको समितिका सचिब सुमन शर्माले जानकारी दिए ।
विभागबाट आएको ईन्जिनिएर ऋषिकेश पोख्रेल, नवीन आचार्य, सुलभ लिगल, घोराही खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख चोकप्रसाद धिताल, घोराही उपमहानगरपालिकाका निमित्त प्रमुख भरतकुमार अर्याल, वडा नं. १४ का शक्तिराम डाँगी, वडा नं. १५ का रमेश कुमार पाण्डे को टोलीले घोराहीको कटुवा खोलाका दुई स्थानमा अध्ययन गरेको समितीका अध्यक्ष देविबहादुर डिसीले बताए । अध्ययन टोलीले घोराही खानीगाउँ, ढुंगेघरको कटुवा खोलामा रहेको खानेपानी सस्थाको ईन्टेकको मुहान नजिकै उत्तर तिर बाँध निर्माण गर्ने प्रस्ताव गरेको छ ।
योजनाको रुपमा काम सुरु हुन धेरै समय लाग्ने भए पनि पहिलो चरणको काम सुरु भैसकेको इन्जिनिएर पोख्रेलले बताउनुभयो । जनघनत्व बढ्ने तर पानीका मुहानहरु सुक्दै जाने अबस्थामा घोराहीको कटुवा खोलामा हाईड्याम निर्माण गर्न सके लामो समय सम्म चौतर्फी फाईदा हुन सक्ने पोख्रेलले बताए ।
अध्ययन पछि तयार पारिएको प्रतिबेदनलाई आधार मानेर योजना निर्माण भै बजेट विनियोजन हुने र काम सुरु हुने उहाको भनाई रहेको थियो । तर त्यसको लागि सबैको चासो र पहल आबस्यक रहेको उहाको भनाई रहेको छ । उहाले दाङ लगाएत विभिन्न क्षेत्रमा रहेका ठाडा खोलाहरुमा हाईड्याम निर्माण गर्नका लागि सरकारले चासो दिइरहेको बताए ।
समितिका अध्यक्ष देविबहादुर डिसीले घोराहीको कटुवा खोलामा हाईड्याम निर्माण गर्ने विषय लामो समय देखिको योजना रहेको भन्दै सबैको चासो र पहल भए कामले तिव्रता ल्याउने बताए ।