इन्द्रेणी संवाददाता
दाङ, २९ मंसिर । एक वर्षको अवधिमा एक सय ३० वटा विभिन्न मानवअधिकार हनन् तथा उलंघनका घटना भएका छन् । सन् २०१७ मा जिल्लामा एक सय ३० मानवअधिकार हनन्का घटना भएको र सोबाट १ सय ७८ जना पीडित भएको इन्सेक दाङले सूचिकृत गरेको छ ।
इन्सेक दाङले आज दाङको घोराहीमा सन् २०१८ को वर्ष पुस्तकका लागि समीक्षा कार्यक्रमको आयोजना गरी सन् २०१७ भरी गैरराज्य पक्षबाट १०९ वटा राज्य पक्षबाट १३ र अज्ञात समूहबाट ८ वटा घटना भएको जानकारी दिएको छ । कार्यक्रममा इन्सेक दाङका प्रतिनिधि जेएन सागरले यी घटनामध्ये गैरराज्य पक्षबाट भएका घटनाबाट ११४ जना राज्य पक्षबाट भएका घटनाबाट ४७ जना र अज्ञात समूहबाट १७ जना पीडित भएको जानकारी दिए । जसमा ८० पुरुष, ७९ महिला र १९ बालवालिका रहेका छन् ।
यसवर्ष जिल्लामा गैरराज्यबाट ४, राज्यपक्षबाट १ र अज्ञात समूहबाट १ गरी ६ जनाको मृत्यु भएको समेत इन्सेकको तथ्याङकमा उल्लेख छ । यसैगरी घरेलु हिंसाका ४९, बलात्कार÷बलात्कार प्रयासका ३१, हत्या ४, कथित बोक्सी आरोप १, घर निकाला २, गाली वेइज्जति १, दुव्र्यवहार ४, बन्द २, बम विस्फोट २, अपहेलना १, गैरकानूनी हिरासत ३ र अन्य ३० वटा घटना भए छन् । यसवर्ष ६ वर्षदेखि १६ वर्षसम्मका १८ वालिका बलात्कृत भएकोमा ५ जना त बाबुबाटै बलात्कृत भएका छन् । ६ वर्षीया बालिकादेखि ६५ वर्षया वृद्धासम्म बलात्कृत भए भने बलात्कारमा ५६ वर्षका वृद्धसमेत सामेल भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
त्यस्तै ४९ घरेलु हिंसामा ३७ वटा आफनै पतिबाट पीडित भए भने छोरा, बुहारी, सासु, छिमेकीबाट पनि हिंसाका घटना भएका छन् । यसरी हेर्दा दाङमा मानवअधिकारको अवस्था सन्तोषजनक भएको पनि इन्सेकको आँकलन छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा हुने मानवअधिकार हनन्का घटना घटदो भन्दा वढ्दो रहेकाले यसलाई न्यूनिकरण गर्ने उपाया सबै सरोकारवाला निकायहरुले अपनाउनुपर्नेमा जोड दिए । प्रमुख अतिथि घोराही नगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले जिल्लामा मानवअधिकार उलंघनका घटना न्यूनिकरण सबै सरोकारवाला निकाय आपसी समन्वयका साथ अघि वढ्नुपर्ने बताइन् ।
मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागीता थियो ।