काठमाडौँ, २८ मंसिर । नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो ।

bengal-tiger6राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गर्न लागेको हो । जसमध्ये चितवन १५, पर्सा सात, बाँके चार, बर्दिया चार र शुक्लाफाँटामा सात हात्तीको प्रयोग गर्न लागेको हो ।

नेपालको मुख्य बाघ पाइने क्षेत्र तराई नै हो । विभागले बाघ पाइने क्षेत्रलाई तीन तहमा विभाजन गरी गणना शुरु गरेको छ । जसमा चितवन र पर्सामा यही मंसिर १४ गतेदेखि, बाँके र बर्दियामा पुस १ गतेदेखि र शुक्लाफाँटामा केही दिनपछि बाघ गणना गरिने विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए।

बाघ गणनाका लागि एक हजार ८८७ ग्रिड बनाई एक हजार २०० क्यामरा ट्र्यापको प्रयोग गरिन्छ । यस्तै सन्टो कम्पास, रेन्ज फाइन्डर, जिपिएस, रेकर्डफमको समेत प्रयोग गरिने विभागले जनाएको छ । बाघ गणनाका लागि डब्लुडब्लुएफ नेपाल र जेड एसएल नेपाल लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् ।

विभागले बाघ गणनाका लागि ६६ दिनसम्म दैनिक २५० कर्मचारी र रु तीन करोड २० लाख खर्च हुने अनुमान गरेको छ । बाघ गणनाका लागि विभागले गणना गर्ने व्यक्तिलाई तालिमसमेत दिएको छ ।

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारका पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्रप्रमुखको सम्मेलनले हरेक पाँच वर्षमा बाघको गणना गर्ने निर्णय गरेको थियो ।