रिता लामा
दाङ, २७ मंसिर । हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले घोराहीबाट श्रममा रहेका सात जना बालबालिकाहरुलाई परिवारमा पुनस्र्थापना गरेको छ । घोराही उपमहानगरपालिकाका विभिन्न स्थानबाट श्रममा लागिरहेका बालबालिकालाई उद्धार गरी स्टेशनरी तथा श्रमिक बालबालिकाको परिवारलाई आयआर्जन सहयोगसहित परिवारमा पुनस्र्थापना गरेको हो ।

ritaघोराहीका विभिन्न होटलबाट ४ जना, घरेलु श्रम, गाडी धुलाई र किराना पसलबाट १/१ जना गरी ७ जना श्रमिक बालबालिकालाई परिवारमा पुनस्र्थापना गरिएको हो । पुनस्र्थापना गरिएका बालबालिकाहरुमा घोराही–२ लामिडाँडाका १२ वर्षीय राजेश बोहरा, घोराही १३ मङ्लेरीका १४ वर्षीय सिरबहादुर थापा, घोराही ११ भिरकौवाका १३ वर्षीय कृष्ण राना, घोराही ३ कुइरेपानीकी १२ वर्षीया सलिना वली, घोराही २ मोतीपुरका १३ वर्षीय रमेश चौधरी, घोराही १४ बसपार्कका १० वर्षीय हिमाल नेपाली र घोराही १७ चौघेराका १४ वर्षीय गिरिराज बुढामगर रहेका छन् ।

हिप्डेक नेपालका सदस्य शरद अधिकारीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाकी उपमेयर सीता न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । बुधवार उपमहानगरपालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिले श्रमिक बालबालिकालाई स्टेशनरी सामग्री तथा प्रतिपरिवार १६ हजार पाँच सयका दरले आयआर्जन सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले बालबालिकालाई श्रममा नभई विद्यालयमा पठाउनुपर्ने बताए ।

उनले बालबालिकालाई जन्माएर मात्र हुँदैन उनीहरुको उचित लालनपालन, शिक्षा, स्वास्थ्यको जिम्मेवारीसमेत अभिभावकको भएको भन्दै आफ्नो जिम्मेवारीबाट नपन्छिन अभिभावकहरुलाई आग्रह गरे । घोराही उपमहानगरपालिका बालमैत्री घोषणा अभियानमा लागिरहेको हुँदा यो अभियानमा सहयोग गर्न उनले सबैमा आग्रह गरे । त्यसैगरी कार्यकारी अधिकृत ऋषिराम केसीले बालबालिकाहरुलाई अबका दिनमा श्रममा नफर्काउन र उनीहरुको शिक्षादीक्षाको लागि उचित वातावरण निर्माण गर्न अभिभावकहरुलाई आग्रह गरे  । आजका बालबालिका भोलिका देश निर्माणका आधार भएको भन्दै उनले बालबालिकालाई कुनै किसिमको श्रममा प्रयोग गर्न नहुने बताए ।

कार्यक्रमको विषयवस्तुमाथि हिप्डेक नेपालका कोषाध्यक्ष दुर्गालाल केसीले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक किरण गौतमले गरेका थिए । कार्यक्रममा महिला बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, पुनस्र्थापित बालबालिका रहेको वडाका जनप्रतिनिधि, पत्रकार तथा सिबिस नेपालको प्रतिनिधि, बालबालिकाका अभिभावकलगायतको उपस्थिति रहेको थियो । हिमालय शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले बालबालिकाको क्षेत्रमा विगत १३ बर्षदेखि निरन्तर काम गर्दै आइरहेको छ ।