रुकुम । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा झण्डै डेढ वर्षदेखि हवाई सेवा बन्द भएको छ । हप्तामा २ पटक उडान हुने चौरजहारी विमानस्थल अहिले पूर्णरूपमा बन्द छ । उडानका लागि पाइलटको अभाव रहेको भन्दै नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगञ्जले उडान तालिका नबनाउँदा हवाई सेवा बन्द भएको चौरजहारी विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
चौरजहारी विमानस्थलका निमित्त स्टेशन इञ्चार्ज सुरेन्द्र नेपालीका अनुसार २०७३ जेठदेखि चौरजहारी विमानस्थलमा हवाई सेवा बन्द भएको हो । उनका अनुसार चौरजहारीमा छिटै हवाई सेवा सञ्चालन हुनेछ ।
हवाई सेवा बन्द हुँदा पश्चिम रुकुमका साथै जाजरकोट र सल्यानलगायतका यात्रुहरू मारमा परेको चौरजहारी नगरपालिका–२ की यशोदा परियारले बताइन् । उनले भनिन्, ‘हवाई सेवा बन्द हुँदा जोखीम मोलेर यात्रुहरू गाडीमा आवतजावत गर्न बाध्य छन् ।’ पश्चिम रुकुममा हवाई सेवा बन्द हुँदा जटिल किसिमका बिरामी र गर्भवती महिलाहरू हेलिकोप्टर चार्टर गरेर काठमाडौं तथा नेपालगञ्ज जानुपर्ने बाध्यता छ ।
२०७० मा विमानस्थलको धावनमार्ग कालोपत्र भएको केही समयपछि हवाई सेवा बन्द भएको चौरजहारी नगरपालिका–१ का तिलक भण्डारीले बताए । उनले भने, ‘भौतिक पूर्वाधार पर्याप्त भए पनि हवाई सेवा बन्द भएपछि यात्रुलाई अप्ठ्यारो परेको छ ।’
पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमले बुधवार काठमाडौं–चौरजहारी–नेपालगञ्ज र बिहीवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान गर्दै आएको थियो ।
चौरजहारीमा निजी हवाई कम्पनीले भने उडान सञ्चालन गरेकै छैनन् । पर्याप्त मात्रामा यात्रु नहुने भन्दै उनीहरूले उडान नगरेका हुन् ।
प्रविर ददेल /अभियान