गोरखा, २० मंसिर । गएको मंसिर १० गते भएको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मतगणना गोरखामा विहीबार अपरान्ह पाँच बजेबाट शुरु हुने भएको छ । मतगणना सम्बन्धी तयारीका लागि बुधबार दिउँसो बसेको सर्वदलिय सर्वपक्षीय बैठकमा मतगणना प्रक्रिया सम्बन्धी भएको छलफलमा कुनै कारणबाट मतपेटिका मुसाले खाएको रहेछ भने मतपेटिकालाई साबुदै मानि गणना प्रक्रिया अगाडि बढाउने साथै मतपेटिकाभित्र रहेका मतपत्र मुसाले खाएको रहेछ भने पनि स्वस्तिक चिन्ह रहेको कोठा स्पष्ट छ र त्यसमा स्वस्तिक छाप स्पष्ट देखिन्छ र मतपत्र बदर हुने अवस्थाको छैन भने त्यसलाई सदरै मानी मत गणना गर्ने भनि निर्णय भएको हो ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, उम्मेदवारहरु, पत्रकार, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरु वीच भएको सर्वदलिय सर्वपक्षीय छलफलमा मतगणना व्यवस्थित गर्ने सम्बन्धमा १० बुँदा र मतगणना प्रक्रिया सम्बन्धमा १० बुँदामा सहमति भएको छ ।