झापा, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासंग गठबन्धन भएको झापा– ३ मा एमालेले ‘म्याच फिक्सिङ्ग’ नगर्ने बताएका छन् ।
झापाको बिर्तामोडमा विहिवार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले ‘एमालेले जसलाई समर्थन गर्छ खुल्ला रुपमा गर्छ, जालसाज गर्ने जादैन ।’
उनले कान्तिपुर दैनिकको नामै लिएर भने, ‘कान्तिपुर जस्तो राष्ट्रिय दैनिकले आज मुख्य पृष्ठमा एमालेले झापा– ३ मा काँग्रेससंग ‘म्याच फिक्सिङ्ग’ गर्छ भनेर समाचार लेखेछ ।’
‘म्याच फिक्सिङ्गको नाममा गठबन्धनलाई लत्याएर एमालेले कसैसंग फोहोरी खेल खेल्दैन’ ओलीले सभामा भने, ‘फोहोरी खेल खेल्नु थियो भने एमालेले पहिले नै खेल्थ्यो ।’ उनले भने ‘हामी वचनको पक्का छौ, दायाँ बायाँ गर्न जान्दैनौ ।’ झापा ३ मा राप्रपालाई कुनै हालतमा धोका दिदैनौ उनले प्रस्टाए ।
झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार रहेका ओलीले काँग्रेसलाई आफुहरुले लतारेर गणतन्त्रमा ल्याएको बताए । उनले भने, ‘काँग्रेसलाई गणतन्त्रमा कसरी ल्याइयो भन्ने कुरा कृष्णप्रसाद सिटौलालाई थाहा छ ।’