भालुवाङ, १२ मंसिर । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ले नेपाली कांग्रेसलाई लोकतान्त्रिक चरित्र देखाएर पाँच बर्ष प्रतिपक्षमा बस्न सुझाव दिनुभएको छ ।
दाङको भालुवाङमा बाम गठबन्धनद्वारा आयोजित चुनावी जनसभालाई सम्वोधन गर्दै उहाँले बाम एकतापछि कांग्रेस अत्तालिएको आरोप लगाउँदै पाँच बर्ष प्रतिपक्षमा बसेर हेर्न सुझाव दिनुभयो । ‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष बन्नु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो, हामी बाम एकता गरेर अब सत्ता पक्ष बन्ने भयौं नै, कांग्रेसले पाँच बर्ष प्रतिपक्षमा बस्ने धैर्य गरोस्’– उहाँले भन्नुभयो– ‘लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेन भने कांग्रेस प्रजापरिषद्जस्तै अभिलेखालयको कुनामा सीमित हुन्छ, यो कुनै आरोप होइन यथार्थ हो ।’
अब मंसिर २१ पछि बाम सरकार कसैले रोक्ननसक्ने जिकिर गर्दै उहाँले चुनावी गठबन्धन र एकतालाई लोकतन्त्रविरोधी देख्ने कांग्रेसको दृष्टिकोण नै अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । ‘तपाइँ संसारभरिको लोकतन्त्रको इतिहास हेर्नुहोस्, अझ कांग्रेसले आदर्श मान्ने गरेको संसदीय लोकतन्त्रमा चुनावी गठबन्धन र विचार मिल्नेबीच एकता हुनु स्वाभाविक मानिन्छ तर यहाँ हाम्रो एकता देखेर किन कांग्रेस डराइरहेको छ, लोकतान्त्रिक अभ्यासदेखि डराउनु अलोकतान्त्रिक चरित्र हो, यो कांग्रेसले नसुधारे कांग्रेस रहन्न ।’
अब बाम सरकारले १० बर्षमा ५० हजार पर्यटक भित्र्याउने उल्लेख गर्दै उहाँले २० हजार मेघावाट विद्युत उत्पादन गर्ने बताउनुभयो । बृद्धबृद्धालाई सरकारी पेन्सनको ब्यवस्था गर्ने उल्लेख गर्दै उहाँले समृद्धि नै बाम सरकारको मुख्य अभियान हुने बताउनुभयो । एमाले र माओवादीको गठबन्धन चुनावका लागि नभइ नभएको उल्लेख गर्दै उहाँले अब एकतालाई कसैले रोक्न नसक्ने बताउनुभयो । दुनियाँलाई आश्चर्यमा पार्ने गरी उम्मेदवारी बाँडफाँड गरेर नै आफूहरुले एकताको शुरुवात गरिसकेको पुनले बताउनुभयो ।
दाङ क्षेत्र नम्बर १ का बाम गठबन्धन उम्मेदवार मेटमणि चौधरीले समृद्धिमार्फत गरीबलाई धनी बनाउने आफूहरुको योजना रहेको बताउनुभयो । भूमिहीनलाई लालपूर्जा, खरको छानो अन्त्य गरी टीनको छाना, रोग र कुपोषणमुक्त क्षेत्र आफ्नो एजेण्डा भएको बताउनुभयो ।
दाङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार इन्द्रजीत चौधरीले नयाँ देउखुरी अभियान आफ्नो मूल एजेण्डा भएको बताउनुभयो । राप्ती नदीलाई अभिसाप होइन बर्दान बनाउँदै देउखुरीलाई अन्नभण्डारमा परिणत गर्ने उहाँले बताउनुभयो ।
चुनाव परिचालन समिति निर्वाचन क्षेत्र नम्बर १ (१)का संयोजक लुमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेत्र खनालले गर्नुभएको थियो भने किरण भण्डारीले स्वागत गर्नुभएको थियो ।
विभिन्न पार्टी परित्याग गरी गठबन्धनमा प्रवेश
विभिन्न पार्टी पत्यिाग गरेर गठबन्धनमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा राप्ती गालिका ७ का कांग्रेसबाट स्थानीय तह चुनावमा वडा अध्यक्षका उम्मेदवार योगेन्द्र चौधरी, निमबहादुर बराल, टोपबहादुर कार्की, हिमबहादुर शाही, कुमल कुमाल, सञ्जयकुमार गुप्ता, विलाल महरा, वीरेन्द्र कुमाल, नायक गाहा मगर, बिष्णु राना मगर, जोखबहादुर घर्ती, नयाँ शक्तिका कृष्ण परियार, राजमोका एरिया सदस्य पिताम्बर बेलवासे, गाउँ कमिटी सदस्य अशोक कुमाल, विजय जिसी, जंगबहादुर क्षेत्रीलगायत रहेका छन् ।