कञ्चनपुर १० मंसिर । पतिशोकमा रहेकी बिना मगरले आफ्नो निर्वाचन क्षेत्र पुगेर भावुक प्रेस विज्ञप्ति जारी गरेकी छिन । बिना कञ्चपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन । उनी चुनाव प्रचारका क्रममा जिल्लामा रहेको समयमा गएको मंसिर ३ गते पति साकार दाहाल ‘प्रकाश’ को काठमाडौंमा हृदयघातबाट निधन भएको थियो ।
शनिबार जारी विज्ञप्तिमा भनिएको छ,‘निर्वाचनको महासंग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा मेरा लागि ठूलो चोट थियो । यो पीडामा मनलाई सम्हाल्दै चुनावमा होमिनु कठिन थियो । तर, अध्यक्ष क प्रचण्डले भनेझैं हामी समृद्ध नेपालको ऐतिहासिक अभियानमा अघि बढेको बेला हामीमाथि आइपरेको व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धीको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस ग¥यौं । यही जिम्मेवारीबोधले परिवारमा घटेको अकल्पनीय दुर्घटनालाई हामीले शक्तिमा बदल्ने संकल्प लिन सक्यौं ।’
बिनाले दुखद क्षणमा आफ्नो अनुपस्थितिमा पनि समृद्धिको सपना पुरा गर्न निर्वाचनको प्रचारप्रसारलाई गति दिन अहोरात्र खटिएका सम्पूर्ण साथीभाई, साथ दिने सञ्चारकर्मी र माया गर्ने बुबाआमा, दाजुभाई, दिदीबहिनीहरूमा कृतज्ञता र धन्यवाद प्रकट गर्दछु ।
उनले भनेकी छन, ‘मैले आफ्नो राजनीतिक यात्राको क्रममा सुख र दुःखमा सधैं तपाईहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईहरूमाझ फर्किएकी छु ।’
बिनाले पतिशोकमा परेको बेला सम्हालिन गाह्रो भएपनि कञ्चनपुर वासीको सद्भाव र क प्रचण्डको निर्देशनले शोकलाई शक्तिमा बदल्ने प्रेरणा दिएको बताएकी छन ।
तर यस्तो दुःखको समयमा आफू पहिले जस्तो गरी सशक्त रुपमा चुनावी मैदानमा उत्रिने अवस्था नरहेकाले त्यसलाई बुझेर सहज रुपमा लिई थप सहयोगको अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्तिको पूर्णपाठ: