पाण्डव शर्मा
दाङ, २६ कार्तिक । उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रियाको अगुवाइ गरेकाले आफूलाई शान्ति दूतको रुपमा बुझ्न आग्रह गरेका छन् ।
दाङको बालकल्याण आधारभूत विद्यालय खैरामा सञ्चालित ज्ञान महायज्ञमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘२०५८ सालदेखि शुरु भएको नेपाल शान्ति प्रक्रिया हुँदै २०६३ सालमा भएको शान्ति सम्झौतासम्म हाम्रो पार्टीको तर्फबाट मैले नेतृत्व गर्ने अवसर पाएँ’– उनले भने, ‘त्यसयता पनि निरन्तर सरकारमा सहभागितालगायतका माध्यमबाट नेपालको विकास र शान्ति प्रक्रियामा मैले महत्वपूर्ण भूमिका खेलेकाले पनि मलाई यसमा गौरब महसुस भएको छ ।’
दाङ क्षेत्र नम्बर २ का प्रतिनिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका महराले आफूले सबै धर्मको उत्तिकै सम्मान गर्ने गरेको पनि बताए । ‘म आफूमा कम्युनिष्ट हुँ र म भौतिकवादलाई विश्वास गर्छु’– उनले भने ‘तर म मन्दिर, मस्जिद, चर्च जहाँ पनि पुगेर सम्बन्धित धर्मप्रति आस्था गर्नेहरुलाई सम्मान गर्छु किनकि म सबै धर्मलाई उत्तिकै सम्मान गर्छु ।’
विद्यालयमा जारी महायज्ञमा एक लाख दान गर्दै उनले विद्यालयको पूर्वाधार निर्माणमा राज्यस्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूले लामो समयदेखि पार्टी राजनीति गरे पनि अब पूर्णरुपमा आफू विकास निर्माणमा लाग्ने प्रतिबद्धतासहित दाङ क्षेत्र नम्बर २ मा आएको पनि उनले बताए ।
