पाण्डव शर्मा
दाङ, २६ कार्तिक । उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रियाको अगुवाइ गरेकाले आफूलाई शान्ति दुतको रुपमा बुझ्न आग्रह गर्नुभएको छ ।

mahara

दाङको बालकल्याण आधारभूत विद्यालय खैरामा सञ्चालित ज्ञान महायज्ञमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘२०५८ सालदेखि शुरु भएको नेपाल शान्ति प्रक्रियाहुँदै २०६३ सालमा भएको शान्ति सम्झौतासम्म हाम्रो पार्टीको तर्फबाट मैले नेतृत्व गर्ने अवसर पाएँ’– उहाँले भन्नुभयो– ‘त्यसयता पनि निरन्तर सरकारमा सहभागितालगायतका माध्यमबाट नेपालको विकास र शान्ति प्रक्रियामा मैले महत्वपूर्ण भूमिका खेलेकाले पनि मलाई यसमा गौरब महसुस भएको छ ।’

दाङ क्षेत्र नम्बर २ का प्रतिनिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका महराले आफूले सबै धर्मको उत्तिकै सम्मान गर्ने गरेको पनि बताउनुभयो । ‘म आफूमा कम्युनिष्ट हुँ र म भौतिकवादलाई विश्वास गर्छु’– उहाँले भन्नुभयो– ‘तर म मन्दिर, मस्जिद, चर्च जहाँ पनि पुगेर सम्बन्धित धर्मप्रति आस्था गर्नेहरुलाई सम्मान गर्छु किनकि म सबै धर्मलाई उत्तिकै सम्मान गर्छु ।’

विद्यालयमा जारी महायज्ञमा एक लाख दान गर्दै उहाँले विद्यालयको पूर्वाधार निर्माणमा राज्यस्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले लामो समयदेखि पार्टी राजनीति गरे पनि अब पूर्णरुपमा आफू विकास निर्माणमा लाग्ने प्रतिबद्धतासहित दाङ क्षेत्र नम्बर २ मा आएको पनि उहाँले बताउनुभयो । सो अवसरमा महरालाई खैरामा स्थानीयवासीले बजागाजासहित सम्मान गरेका थिए ।