घोराही २६ कार्तिक । नेपाली कांग्रेसकी नेतृ बबिता केसीले पार्टी परित्याग गर्नुभएकोछ । विगत ३८ वर्षदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहेर विभिन्न अहोदामा बसेर काम गर्नुभएकी केसीसँगै उहाँको परिवारले निर्वाचनको मुखैमा पार्टी छाडेको छ ।
नेतृ केसीसँगै उहाँको जीवनसाथी कांग्रेसका क्रियाशिल सदस्य समेत रहनुभएका लेखबहादुर केसीले पनि नेपाली कांग्रेस परित्याग गर्नुभएको छ । कांग्रेस नेतृ केसी हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुनुहन्थ्यो भने कांग्रेस भातृसंगठन नेपाल महिला संघको निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले संघमा १३ वर्षसम्म केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो ।
दाङको सौडियारबाट क्रियाशिल सदस्य रहेपनि पछिल्लो केही समय यता घोराही बजारमा बस्दै आउनु भएकी नेतृ केसी जिल्लामा चल्तापूर्जा महिला नेतृमा पर्नु हुन्छ । अधिकारका लागि भएका सबै खाले आन्दोलन र कार्यक्रमहरुमा महिलाहरुको नेतृत्व गर्दै आउनु भएकी केसीले आइतबार विज्ञप्ति जारी गरेर आफू र आफ्नो परिवारले कांग्रेस पार्टी परित्याग गरी स्वतन्त्र भएको जानकारी गराउनु भएको छ । यस विषयमा नेतृ केसीसँग सम्पर्क गर्दा उहाँले सबैसँग छलफल गरेर नयाँ सिराहबाट राजनीतिक यात्राको थालनी गर्ने प्रतिक्रिया दिनुभयो ।