इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । केहि समय अगाडी उपप्रधानमन्त्री कृष्णबहादुर महराका छोरा सरकारी कोटामा चाइना पढ्न गएको भन्ने समाचार केहि अनलाइनहरुमा छाएको थियो । तर उपप्रधानमन्त्री पुत्र निर्मल महरा एटम चाइना पढ्न होइन कुखुरा पालन व्यावसायमा जमेको भेटिए ।
देश र जनताको मुक्तीका लागि भन्दै जनयुद्धमा होमिएका जनमुक्ती सेनाका एक सफल कमाण्डर एटम औपचारिक रुपमा प्रमाणपत्र तह उतिर्ण हुन् । राजनीतिमा पनि जमेर लागेका एटमका लागि चाइना पढ्न गएको कुरा बदनियत पुर्वक हल्ला मात्र भएको उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा दाङ जिल्ला सचिवालय सदस्य निर्मल महरा एटमले राजनीति संगसंगै आर्थिक जोहोका लागि कुखुरापालन व्यवसाय गरेकाछन् । घोराही उप महानगरपालीका वार्ड नं १७ घर भएका महरा उप प्रधानमन्त्री कृष्णबहादुर महराका जेठा छोरा हुन् । एटम राजनीतिका साथै आत्मनिर्भरका लागि व्यवसायमा छन् । घोराहीको गैरागाँउ स्थित आफ्नै घरमा उनले अण्डा उत्पादनका लागि लेयर्स चल्ला पालेका छन् । उनी दैनिक विहान ६ बजे देखि १० बजेसम्म कुखुराको हेरबिचार र अण्डा संकलनको काम गर्छन् । भने दिउसोको समय उनले राजनीतिकालागि छुट्टाएकाछन् । पार्टिको काम र व्यवसाय संगसंगै गरीरहेका एटमले समयको उचित व्यवस्थापन गर्न सकियो भने दुवै काम गर्न सकिने बताउँछन् ।
एटम राजनीतिमा व्यस्त भएको बेला उनकी जीवन संगिनि देवा महरा र सालि गोमा पुनले सहयोग गर्नेगरेको एटमले बताए । ‘दिगो राजनीतिका लागि अब राजनीतिज्ञहरुले आत्मनिर्भरताको बाटो अपनाउनुपर्छ’ एटमले भने । ‘यदि हामीले उत्पादनतिर ध्यान दिएनौ भने हाम्रो ध्यान भ्रष्टाचार तर्फ जाने भएकोले आर्थिक उपार्जनकालागि लाग्नुपर्ने उनको भनाई छ । राष्ट्रिय स्तरका नेताको छोरा एटमले आफ्नो वुवाको पँहुच प्रयोग गरेर धेरै अवसरहरु प्राप्त गर्न सक्थे । उनले ठूलै नियुक्ति खान पनि सक्थे । तर, एटम राजनीतिमा पँहुचको दुरुपयोग गर्नु राम्रो नभएको बताउँछन् । “हाम्रो देशका ८० प्रतिशत भन्दाबढी जनता कृषि व्यवसायमा सम्लग्न छन्, उनीहरुको मनोवल उठाउनको लागि भए पनि मैले कृषि व्यवसाय अवलम्वन गरेको हुँ” एटमले भने ।
उनले करिव दुईकट्ठा क्षेत्रफल जग्गामा टहरो बनाएर लेयर्श कुखुरा पालेका छन् । कुल १ हजार दुई सय ओटा कुखुरा मध्ये अहिले ९ सय ५० ओटा कुखुराले अण्डा पारिरहेका छन् । एउटा अण्डालाई थोकमा ११ रुपैयाँमा बिक्री गरिन्छ । अण्डा उत्पादनबाट सबै खर्च कटाएर मासिक करिव एक लाख रुपैयाँ फाइदा भइरहेको एटमले जानकारी दिए । उनले राजनीति गर्दा लाग्ने सबै खर्च आफ्नै व्यवसायबाट निकालेका छन् ।
२०५३ सालमा १३ वर्षकै उमेरमा एटमले भूमिगत राजनीति शुरु गरेका थिए । तत्कालिन राज्यले घरमा आएर दुःख दिन थाले पछि एटम पनि कलिलो उमेरमा पढाई छाडेर आफ्नो वुवाले अंगालेको राजनीतिमा होमिन पुगे । ‘म कृषि व्यवसायसँगै राजनीति गर्न चाहन्छु, मेरो दिमागमा अहिले अण्डा र राजनीति सेट भएको छ’ एटमले भने । ‘अण्डाले म र मेरो परिवार पालेको छ, राजनीति मेरो जीवनसँग जोडिएकोले यसलाई त छोड्नै भएन भन्छन् एटम । अण्डा उत्पादन संगसंगै तरकारीको पनि सोच आएको छ तर त्यसकोलागि उपयुक्त जमिनको खोजीमा रहेको पनि एटमले बताए ।
