रोल्पा २० कार्तिक । रोल्पाको लिवाङमा प्राविधिक धारको शिक्षालय पोलिटेक्निक इन्स्टिच्युटको उद्घाटन गरिएकोछ । इन्स्टिच्युटको आज उपप्रधानमन्त्रीएवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले भव्य उद्घाटन गरेका हुन् । उपप्रधानमन्त्री महराले आफैले दान गरेको जग्गामा निर्माण गरिएको रोल्पा पोलिटेक्निक इन्स्टिच्युटको सोमबार विद्यार्थीलाई २५ मिनेट पढाएर कक्षाको उद्घाटन गरेका हुन् ।

mahara1

विद्यार्थीमाझ प्राविधिक शिक्षाबारे जानकारी गराउदै महराले सर्वसुलभ एवं गुणस्तरीय ज्ञान हासिल गरेर मात्र गरिबीबाट माथि उठ्न सकिने बताए । दाङबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका महरा रोल्पाका बाम गठन्धनका उम्मेदवारलाई सघाउने उद्देश्यले उनी आफ्नो गृह जिल्लामा आएका हुन् ।

बोर्डमा नेपालको नक्सा बनाउदै महराले सडक सञ्जालबाट दक्षिणको दिल्ली र उत्तरको बेइजिङलाई जोडेर विकासको मुल फुटाउन सकिने बताए । ‘नेपालको विकास गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गुरु योजना बनाउनु पर्छ’, उनले भने, ‘यसो हुन सके अबको पाँच वर्षपछि नेपालको मुहारै बदलिनेछ ।’

सरकारको चार करोड लगानीमा इन्स्टिच्युटका लागि भवनको निर्माण कार्य जारी छ । वार्षिक रुपमा ४० विद्यार्थीलाई पढाउन सकिने उक्त इन्स्टिच्युटलाई आवश्यक पर्ने जग्गा महरासहित स्थानीय हिराजंग कुँवर, लालबहादुर कवर र मुलबहादुर रोकासहितले रुपमा दान गरेका हुन् । उक्त शिक्षालय करिब ३६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । महराले करिब ३० रोपनी जग्गान शिक्षालयका लागि दान गरेका हुन् ।