इन्द्रेणी संवाददाता
दाङ १५ कार्तिक । प्याव्सन दाङका संस्थापक अध्यक्ष तथा शिक्षा प्रेमी डाक्टर घनश्याम डाँगीको निधन भएको छ ।
निजी बिद्यालयका खम्बाको रुपमा स्थापित डाँगीको शुक्रवार उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा निधन भएको परिवारिक श्रोताले जनाएको छ । डाँगी पछिल्लो समय सुगर , प्रेसर जस्ता रोगले ग्रसित थिए ।
यसैबीच प्यावसनका संस्थापक डाँगीको शोकमा भोलि १५ गते बिहीवार दाङका सम्पुर्ण निजी बिद्यालय बन्द गर्ने प्याबसन दाङले जनाएको छ ।
प्यावसन दाङका अध्यक्ष यादव गिरीले आज बुधबार एक शोक वक्तव्य निकालेर संस्थापक डाँगीको निधनले दाङको शिक्षा क्षेत्रमा अपुरणिय क्षति पुगेको बताएका छन । अध्यक्ष गिरी द्वारा प्रेषित वक्तव्यमा भनिएको छ – ” प्याव्सन दाङका संस्थापक अध्यक्ष, वरिष्ठ सल्लाहकार तथा राप्ती बिद्यामन्दिरका प्राचार्य डा. घनश्याम डाँगी ज्यूकाे यही मिति २०७४ कात्तीक १५ गते भएकाे असामयिक निधनकाे खवरले हामी मर्माहत भएका छाैं । दाङ जिल्लामा संस्थागत विद्यालयहरुलाइ एकिकृत गरी संस्थागत बिद्यालयको विकासका लागि उहाँलेे खेल्नुभएकाे भुमिका र विषम परिस्थितिमा संस्थागत विद्यालहरुकाे निरन्तरताका लागि उहाँले पुर्याउनु भएकाे याेगदानकाे सम्झना यस घडिमा स्मरण गर्न चाहन्छाै । साथै दुःखकाे यस घडिमा मृतकका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतक अात्माकाे चिर शान्तिकाे कामना गर्दछाैं ।”
यस्तै वक्तव्यमा भोलि एक दिनका लागि दाङका निजी बिद्यालय बन्द रहने कुरा समेत उल्लेख गरिएको छ । प्यावसन दाङका अध्यक्ष यादव गिरी र हिसान दाङका अध्यक्ष लक्ष्मण बुढाथोकी द्वारा जारी गरिएको संयुक्त शोक वक्तव्यमा अगाडि भनिएको छ – ” २०७४ कात्तीक १६ गते विहीवार प्याव्सन दाङ तथा हिसान दाङ अन्तर्गतका सम्पुर्ण संस्थागत विद्यालयहरुमा पठनपाठन कार्य स्थगित गर्ने व्यहाेरा अनुरोध छ ।”











