इन्द्रेणी संवाददाता
दाङ, १५ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीको नेकपा कम्युष्टि पार्टी दाङका जिल्ला सचिवालय सदस्य ज्वाला खत्रिवडाले पार्टीबाट राजीनामा दिएका छन् । उनले आज बुधवार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
विप्लव माओवादीले लिएको कार्यदिशामा आफ्नो केही मतभेद भएका कारण पार्टी परित्याग गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । नेपाली समाजको रुपान्तरणको आकांक्षा र अभिलाषासहित आफू दुई दशकदेखि राजनीतिमा सक्रिय रहेको र आफू तत्कालीन नेकपा माओवादीले चलाएको दश वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन, संघीय गणतन्त्रात्मक व्यवस्थाको स्थापना लगायतका आन्दोलनमा आफ्नो योगदान रहेको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘पछिल्लो समयमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा रही सक्रियरुपमा मुक्तिकामी आन्दोलनमा सहभागी हुँदै आएको छु । यति हुँदाहुँदै पनि क्रान्तिलाई सम्पन्न गर्ने सम्बन्धमा सो पार्टीले लिएको राजनीतिक कार्यदिशा सम्बन्धी केही मतभेद भएको कारण आजैका मितिदेखि नेपाल कम्युनिष्ट पाटी परित्याग गरेको घोषणा गर्दछु ।’
