दाङ, १५ कार्तिक । दाङका महिला सामूहिक रूपमा अल्लोका समाग्री निर्माणमा जुटेका छन् । जिल्लामा क्रियाशील विभिन्न ६ महिला समूह एउटै थलोमा बसेर सामूहिक रूपमा अल्लोका सामग्री बनाउन थालेका हुन् ।

alloदाङमा रहेको जनउत्थान समाज विकास केन्द्रको साझेदारीमा गरीबी निवारण कार्यक्रमले दाङको घोराहीमा ‘साझा सुविधा केन्द्र’ स्थापना गरिदिएपछि उनीहरू एकै थलोमा बसेर अल्लोजन्य सामग्री निर्माण गर्ने भएका हुन् । केन्द्रले करीब १२ लाख रुपैयाँको लगानीमा सामूहिक उद्योग स्थापना गरेको हो ।

‘पहिले आ–आफ्नै ठाउँमा रहेर समान बनाइरहेका थियौं,’ दाङ अल्लो उत्पादन सघकी अध्यक्ष सरीता विश्वकर्माले भनिन्, ‘अब सामूहिक उद्योग स्थापना भएसँगै एकै थलोमा बसेर अल्लोका सामग्री बनाउँछौं ।’ सामूहिक रूपमा काम गर्दा शीप आदानप्रदान हुने भएकाले क्षमताको विकास पनि हुने उनको भनाइ छ । उद्योगमा विभिन्न मेशिन तथा प्रविधिबाट अल्लोजन्य सामान निर्माण हुनेछन् ।

घोराहीका करीब १ सय २० महिलाले दङ्गाली अल्लो उत्पादन सङ्घ निर्माण गरी उद्योग स्थापना गरेको जनउत्पादन विकास समाज केन्द्रका कार्यक्रम संयोजक गणेश ओलीले जानकारी दिए । उद्योगमा २० जना महिलाले एकैपटकमा काम गर्नेछन् ।