रुकुम, ९ कार्तिक । रुकुममा जाडो बढेसँगै राडीपाखीको व्यापार बढेको छ । स्थानीय कच्चा पदार्थ भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसावाट निर्माण गरिने राडीपाखी तथा कपडा (स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपी) लगायतका राडीपाखी वस्तुको कारोबार बढेको हो । असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोबार बढ्ने स्थानीय व्यापारीले बताएका छन् ।
राडीपाखी न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक व्यापार हुने पुथा उत्तरगङ्गा गाउँपालिका–५ की व्यापारी सूर्यकुमारी पुनले जानकारी दिइन् । उनले भनिन्, ‘महीनामा करीब डेढ लाख रुपैयाँबराबरको विक्री हुने गर्छ ।’
पूर्वी रुकुमको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काक्रीका स्थानीय महिलाले राडीपाखीको विक्रीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । भुमे गाउँपालिका–८ रुकुमकी भोगीलाख विकले प्रत्येक वर्ष राडीपाखी विक्रीबाट साढे २ लाख रुपैयाँ आम्दानी गर्ने जानकारी दिइन् । उनका अनुसार रुकुममा उत्पादित राडीपाखी बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका साथै पोखारा, काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत क्षेत्रमा माग हुने गरेको छ ।
कम लगानी र परिश्रमबाट स्थानीय कच्चा पदार्थको प्रयोगबाट राम्रो कमाइ हुने भएकाले पूर्वी रुकुमका घरैपिच्छे राडीपाखी उत्पादन हुने गरेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत लक्ष्मण शर्माले जानकारी दिए । पूर्वी रुकुममा घरेलु तानमार्फत राडीपाखी बुन्ने गरिन्छ ।
प्रविर ददेल /अभियान
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)