तुलसीपुर , २१ असोज । तुलसीपुर उपमहानगरपालिका ३ राम्रीको शिरमा रहेको धामा गाउँका मोहनलाल राजकोटी मेयर घनश्याम पाण्डेको प्रतिक्षा गरिरहेका थिए । आफ्नै आँगनमा मेयरलाई देख्दा उनले झोलाभरि राखेका फाइल देखाउँदै भने “यसपटक तपाईको आशा छ जसरी पनि गरिदिनुपर्दछ” उनले गाउँमै रहेको नरसिंह भैरव गुफासम्म पुग्नका लागि बाटो निर्माणका साथै भौतिक पुर्वाधारका लागि अनुरोध गर्दै थिए । “गुफासँगै भैरवको मन्दिर पनि छ जहाँ गएर पुजा गरेपछि सोचेको पुग्ने मान्छेको विश्वास छ तर पनि यसको विकास हुन सकेको छैन ” उनले गुनासो पोखे ।
सोही गाउँ निवासी लालवहादुर घर्ति पनि गाउँमा खासै उब्जनी नहुने भएकाले पेट पाल्न धौ धौ भएको भन्दै आयआर्जनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरिरहेका थिए । मेयर पाण्डेले उनीहरुका समस्यालाई तत्काल समाधान गर्नका लागि पहल गर्ने वताए ।
राजमार्गसँग जोडिएर पनि धामा गाउँ अहिले विभिन्न अभावका कथाहरु छन् । चट्टानै चट्टानमा रहेको गाउँमा वर्षभरि पुग्ने गरि उब्जनी पनि हुँदैन । पाखुरा वलिया भएका युवाहरु गाउँमा कोही पनि देखिदैनन् । सवै विदेशमा भविष्य खोजिरहेका छन् ।
तुलसीपुर वजारमा शिरमा राखेको गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके स्थानीय जनताको भविष्य पनि सुनिश्चित हुने अनि तुलसीपुरको पनि पहिचान वलियो हुने स्थानीय गोपाल धितालको भनाइरहेको छ । उनले भने “ यस क्षेत्रलाई नमुना गाउँका रुपमा विकास गर्नका लागि हामीलाई मेयर सापको सहयोग आवश्यक छ ” ।
करिव २० घरधुरी रहेको धामा गाउँमा सुन्दर आकृतिको गुफा रहेपनि त्यसको प्रचार प्रसार र भौतिक विकास हुन नसक्दा त्यसै खेर गइरहेको पनि स्थानीय धनवहादुर रानाले वताए । उनले गाउँमा टेकिदिएकोमा मेयर पाण्डेप्रति आभार व्यक्त गरेका थिए ।
स्थानीयका समस्या सुनिसकेपछि मेयर पाण्डेले गाउँको विकासमा साँझेदारी गर्ने वताएका थिए । “ पर्यटनको विकास गरियो भने यो ठाउँले मुहार फेर्नेछ, मैले त्यसका लागि तत्काल पहल गर्नेछु ” मेयर पाण्डेले भने । त्यसैगरि वडा नम्वर ३ का अध्यक्ष विजय विकले गाउँसम्म पुग्ने वाटो निर्माणमा तत्काल चासो लिने वताएका थिए । तुलसीपुर उपमहानगरका रुपमा विस्तारित भएसँगै गाँभिएको विकट गाउँहरुमा पुगेर मेयर पाण्डेले मासिक रुपमा अवलोकन गर्ने गरेका छन् ।
