असोज, १६ काठमाडौं । सप्तरीको तिलाठी कोइलाडीका देव नारायण यादवलाई भारतीय प्रहरीले पक्रेको विरोधमा विद्यार्थी संगठनहरुले आज काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत विद्यार्थी भेला भएर लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरुले ‘देवनारायण यादवलाई ससम्मान रिहा गर’, ‘सीमा हस्तक्षेप बन्द गर’, ‘भारतको दादागिरी बन्द गर’ लगायतका नारा लगाएका छन् ।
भारतीय सुरक्षाकर्मीले देवनारायण यादवलाई पक्रेर सुपौल जिल्लाको बिरपुरमा राखेको छ । छोरालाई गत शनिबार भारतीय प्रहरीले पक्रेको खबर पाएपछि छोरालाई छुटाउन भनेर भारत गएका देवनारायणलाई पनि सुरक्षाकर्मीले पक्रेका हुन् । देवनारायण र उनको छोरा अजयलाई हतकडी लगाएर राखिएको तस्वीर सार्वजनिक भएको छ । अनलाइन खबरबाट
