आज विश्व मुटु दिवस ‘एक विश्व, एक घर, एक मुटु’ भन्ने नाराका देशभर विभिन्न जनचेतना कार्यक्रम गरेर मनाईंदैछ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक बन्दै गइरहेको छ ।

mutu

नेपालमा हाल २५ प्रतिशत मानिस मुटु रोगबाट पीडित रहेको अध्ययनले देखाएको छ । यसलाई सङ्ख्यामा परिणत गर्ने हो भने ६५ लाख जनता कुनै न कुनै मुटु रोगबाट ग्रस्त छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार, नेपालमा मुटु रोगीको सङ्ख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ यादव भट्टका अनुसार, यसको प्रमुख कारण मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तन नै हो । हाल नेपालमा हृदयाघातसँगै उच्च रक्तचाप र मधुमेहजस्ता घातक रोग तीव्र गतिमा बढिरहेको छ । यस्तै मुटु रोग बढ्नुमा जीवनशैलीसँगै धूमपान, मोटोपन, शारीरिक अभ्यासको कमी, असन्तुलित आहार, अल्छिपन, बनावटी खानाको अत्यधिक प्रयोग, मानसिक तनाव हो ।

नियमित स्वास्थ्य परीक्षण नगराउनु हृदयाघातको मुख्य कारण मानिन्छ । मुटुरोग विशेषज्ञ डा. भट्टले भने, ‘मुटुरोगलाई नियन्त्रणमा राख्ने हो भने मानिसले आफ्नो जीवनशैलीमा व्यापक मात्रामा परिवर्तन गर्नैपर्छ ।’

अर्का मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुका विभिन्न समस्यामध्ये हृदयाघात, भल्बको रोग, मुटुका मसल कमजोर हुने रोग, मुटुको चालमा गढबढ हुनु र जन्मजात हुने मुटु रोग प्रमुख रहेको बताए ।

डा. रेग्मीले हृदयाघात भइसकेपछि सुविधासम्पन्न अस्पतालमा पु¥याउँदा पनि ७ प्रतिशतको मृत्यु भइसक्ने जानकारी दिए । डा. रेग्मीले मानिसको जीवनशैलीलाई ध्यान दिएर दैनिक एक घण्टा हिँड्ने बानी बसाल्नुपर्ने बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरेको छ ।

सन् २०२० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि २ करोड ५० लाख पुग्नेछ र हृदयाघातले सरुवा रोगलाई उछिनेर संसार कै हत्यारा नम्बर एकका रोगका रूपमा स्थापित हुनेछ । यो क्रम निरन्तर बढ्दै जाने हो भने केही वर्षभित्र नेपालमा जति मानिस मर्छन् त्यसको ५० प्रतिशत हृदयाघातलगायत मुटुसम्बन्धी रोगका कारणले मात्र मर्ने देखिन्छ ।

१० वर्ष अघिसम्म ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा हाल युवा अवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ रेग्मीले भने, ‘पछिल्लो समय जन्मजातै वा युवावस्थामा समस्या देखिन थालेको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले नेपालमा बढ्दो शहरीकरण, खानपान, मानिसको जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको बताए । नयाँ पत्रिकामा खबर छ ।

मुटुसम्बन्धी रोग बढ्नुका कारण

(क) बढ्दो र अव्यवस्थित शहरीकरण,
(ख) दैनिक खानपानमा आएको परिर्वतन,
(ग) मानिसको जीवनशैलीमा आएको परिवर्तन,
(घ) बढ्दो धूमपान तथा मद्यपान,
(ङ) मोटोपन तथा शारीरिक अभ्यासको कमी,
(च) असन्तुलित आहार,
(छ) अल्छिपन, बनावटी (जंक फुड) खानाको अत्यधिक प्रयोग,
(ज) मानसिक तनाव,

मुटु स्वस्थ राख्न के गर्ने ?

(क) दैनिक एक घण्टा हिँड्ने बानी बसाल्ने,
(ख) नियमित स्वास्थ्य परीक्षण गराउँने,
(ग) आफ्नो जीवनशैलीमा व्यापक मात्रामा परिवर्तन,
(घ) धु्रमपान तथा मद्यपान कम गर्दै लैजाने,
(ङ) बजारमा उपलब्ध (जंक फुड) खाना नखाने,
(च) सन्तुलित र घरमै बनाएको खाना खाने,
(छ) मौसमी फलफूल तथा सागपात, सलाद खाने,
(ज) आवश्यक मात्रामा पानी पिउने,
(झ) साझमा सफ्ट खाना खाने ,
(ञ) चिल्लो, पिरो बोसो भएको खाना नखाने,
(ट) मुटेका, तारेका खानेकुरा नखाने,
(ठ) सकभर मासु कम खाने,