झापा १३ असोज । झापामा भएको मोटरसाइकल दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ ।

रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १३ प ८०३३ नंको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक मकवानपुर हेटौँडाका ३५ वर्षीय प्रवीण सुवेदी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मृतक मदनकी पत्नी ३२ कल्पना रिजाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा नाम, ठेगाना खुल्न नसकेका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

दमक–४ स्थित चिया दोकान भन्ने स्थानमा मे ५ प २७३० नंको मोटरसाइकलले ठक्कर दिँदा करिव ८० वर्षीय ज्येष्ठ नागरिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रातोपाटीमा खबर छ ।