जुम्ला, असोज ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको बताउनु भएको छ । आइतबार दिउँसो जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी १४ वा १० प्रदेशको पक्षमा थियौं, कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं । कर्णालीलाई नयाँ प्रदेश बनाउनुपर्ने हाम्रो निरन्तरको दवाव र सङ्घर्षले मात्र अहिलेको ६ नम्वर प्रदेश बनेको हो ।’

21762099_1603305166393499_1670220552918297116_n

‘जुम्ला र खासगरी सिन्जा उपत्यका खस भाषा र खस सभ्यताको केन्द्र हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म प्रधानमन्त्री भएको बेला खस भाषा र संस्कृतिको अध्ययन, अनुसन्धान र विश्व स्तरमा चिनाउने उद्धेश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउन खोजिएको थियो । काम अघि बढेको छ । तर, सोचेजति प्रगति भएको छैन । खस भाषा र संस्कृतिको उत्थान र विकासका लागि खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन मेरो पुरै पहल हुनेछ, जुम्लालाई विश्वमा चिनाउन मेरो साथ हुनेछ ।’

कर्णालीको विकास माओवादीको प्राथमिकतामा भएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णाली विकास आयोग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं । नाग्चे लाग्ना नाका खोल्न चीनसँग कुटनीतिक पहल गरिरहेको छु । नाग्मा गम्गडी सडक कालोपत्रे गरिनेछ । कर्णालीको स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिनेछ ।’