घोराही, २९ भदौ । घोराही उपमहानगरपालिकाले फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यलाई अघि बढाउने भएको छ । नगर कार्यपालिकाको बिहिबार बसेको बैठकले फोहोरको व्यवस्थापन सँगै उर्जा उत्पादन गर्नका लागि बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्र सगँ थप सहकार्य गर्ने र प्रकृयालाई तत्काल अघि बढाउने निर्णय गरेको छ । उपमहानगरपालिका भित्र उत्पादन हुने फोहरलाई व्यवस्थित गरी ऊर्जा उत्पादन गर्ने कार्यका लागि २०७३ कार्तिक ४ गते उपमहानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर समेत भैसकेको छ ।
फोहोरबाट उर्जा निकाल्न बिस्तृत सम्भाव्यता अध्ययन गर्न प्रर्बद्धन केन्द्र सँग सहकार्यमा सहमती दिने र योग्य निजि क्षेत्रलाई यस्को जिम्मेवारी दिने गरि प्रकृया अघि बढाउने निर्णय भएको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभएको छ । साथै बैठकले फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रयोजनको लागि कम्तिमा २० वर्ष सम्मको लागि फोहर निजि लगानीकर्तालाई उपलव्ध गराउने र २० वर्ष पछि सम्पुर्ण मेसिन, औजार तथा उपकरण सहित छनोट गरिएको निजी क्षेत्रले उपमहानगरपालिकालाई चालु अवस्थामा हस्तान्तरण गराउने गरि अघि बढ्ने निर्णय भएको छ ।
उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा रहेको जग्गा मध्ये ३ बिगाह जग्गा फोहरबाट ऊर्जा उत्पादन गर्ने, हरियालि र पार्क लगानिकर्ताले निर्माण गर्ने र सो जग्गा सहित फोहरबाट उर्जा उत्पादन प्लान्ट २० वर्ष पछि निजि लगानिकर्ताले चालु अवस्थामा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय भएको छ । यसैगरि उक्त परियोजनाको लागि आवश्यक पर्ने जैविक फोहोरलाई श्रोतमा नै छुट्याउने गरि प्रत्येक वर्ष २० प्रतिशत घर धुरीका दरले ५ वर्ष भित्र उपमहानगरपालिका, निजि लगानिकर्ता र सर्वसाधारण घरधनिको संयुक्त लगानिमा प्रत्येक घरधुरीमा दुईवटा फोहोर संकलन गर्ने फोहोरदानी कार्यान्वयनमा ल्याईने भएको छ ।
साथै उपमहानगरपालिकाको प्रथम नगरसभाबाट पारित नीति, वजेट तथा कार्यक्रम अनुसार आर्थीक बर्ष २०७४/0७५ मा पुँजीगत तर्फबाट संचालन हुने योजनाको तीन प्रतिशत कन्टेन्जेन्सी रकम कट्टा गरि उपमहानगरको खातामा जम्मा गर्ने र उक्त रकम तोकिएको शीर्षक बमोजिम खर्च गर्ने निर्णय पनि भएको छ । साथै उपमहानगरले अझै पनि सबै कर्मचारीको टुंगो नलागेको अबस्थामा आबस्यक क्षेत्रमा एक जना कर्मचारीले दुई देखि तीन वटा वडा कार्यालय हेर्ने गरि जिम्मेवारी दिने निर्णय गरेको छ ।
त्यसै गरी चालु आर्थिक बर्षमा लागत सहभागितामा संचालन गरिने योजनाहरुको लागत सहभागिताको रकम, भूगोल, सहभागिताको प्रकृति, योजनाको किसिम लगायतका विषयहरु समेटि कार्यविधी निर्माण गर्न लछिनप्रसाद बुढा, रमेशकुमार पाण्डे, कुलबहादुर लामिछाने, रामधन श्रेष्ठ, पवित्रा विक रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको र उक्त कार्यदलले पाँच दिन भित्र कार्यविधी निर्माण गरी कार्यपालिकामा पेश गर्न भनिएको छ ।
यसैगरी नगर कार्यापालिकाका सदस्य विष्णुमणि दाहाल, सुवोध रेग्मी, नारायणप्रसाद घर्ति र ठाकुरप्रसाद खनाल रहेको टोलीले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कायविधी २०७४ निर्माण गरी ३ दिन भित्र नगर कार्यापालिकामा पेश गर्ने निर्णय भएको छ । त्यसैगरी सामाजिक विकास समितिका संयोजक भरतमणि अर्याल, सामजिक विकास अधिकृत बालकृष्ण खनाल र स्रोत व्यक्ति विप्लब अधिकारी रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलले ३ दिन भित्र शिक्षक छनौट परीक्षा संचालन कार्यविधी २०७४ निर्माण गरी कार्यापालिकामा पेश गर्ने गरि जिम्मेवारी दिईएको छ ।
साथै उपमहानगरको बैठकले नगर कार्यपालिकाको विभिन्न समितिहरुमा सदस्यहरुलाई मनोनयन समेत गरेको छ । जस्मा सार्वजनिक सेवा तथा क्षमता विकास समितिको सदस्यमा खुसीराम चौधरी, हर्कबहादुर घर्ति, विमला गन्धर्व, आर्थिक विकास समितिका सदस्यमा विष्णुमणि दाहाल, पशुपति चौधरी, टोपाकुमारी पौडेल, सामाजिक विकास समितिमा चित्रबहादुर डाँगी, राजेन्द्र बुढा, माया रावत, पूर्वाधार विकास समितिमा केशवराज आचार्य, रविलाल घर्तिमगर, भिमबहादुर सार्कि र चन्द्रप्रसाद चौधरीलाई मनोनयन गरिएको छ ।
वातावरण तथा विपत व्यवस्थापन समितिका सदस्यमा मानबहादुर बस्नेत, रेबबहादुर बुढाथोकी, धनबहादुर कुसुन्डा, विधेयक समितिमा कुलबहादुर लामिछाने, माधवप्रसाद चौधरी र डिल्लीबहादुर नेपालीलाई मोनयन गरिएको प्रबक्ता अर्यालले जानकारी दिनुभयो । साथै बैठकले तुलसीपुर चोकमा निर्माण गर्न लागिएको सार्वजनिक शौचालयको लागि आवश्यक पर्ने करिब चार धुर जग्गा नेपाल विद्युत प्राधिकरण घोराही शाखासँग माग गर्ने निर्णय पनि भएको छ ।
यसैगरी बडा दशै र तीहारलाई मध्यनजर गर्दै उपमहानगरमा आपूर्ती हुने बस्तु तथा सेवालाई नियमन गर्न, उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा आपूर्ती गर्न, गैरकानुनीरुपमा व्यवसाय गर्नेलाई निरुत्साहीत गर्न सार्वजनिक सेवा तथा क्षमता विकास समितिले नियमितरुपमा दाङ उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित वडा कार्यालय र विषयगत कार्यालयको सघन समन्वयमा बजार अनुगमन गर्ने निर्णय गरियो प्रबक्ता आर्यालले जानकारी दिनुभएको छ ।
त्यसैगरी घोराही उपमहानगरपालिकामा समायोजन हुनुभन्दा अगाडिका साविक गा.वि.स.रामपुर, लक्ष्मीपुर, धर्ना, सौंडियार र सैघा हाल वडा नं. १, २, ३, ४, ५, ६, ७, १९ र साविक त्रिपुर नगरपालिका हाल वडा नं. ८, ९, १०, ११, १२ मा निर्माण भएका पक्कि घरका संरचनाहरुलाई उप महानगरपालिकामा अभिलेखीकरण असोज १ गते देखि लागू हुने गरिने भएको छ ।
साथै ६ महिनाको समय दिई सूचना आह्वान गर्ने र तोकिएको समयभित्र प्राप्त निवेदनमा आवश्यक प्रक्रिया अवलम्वन गरी घर नक्सा अभिलेखीकरण गर्ने गरि अन्यको हकमा स्वेच्छिक रुपमा निबेदन दर्ता गरि प्रक्रिया अगाडि बढाउन सकिने र २०७४ चैत्र १ पश्चात घोराही उपमहानगरपालिकाको नक्सा पास मापदण्ड एवं राष्ट्रिय भवन निर्माण संहिता अनुसार घर नक्सा पास इजाजत प्रदान गर्ने निर्णय गरिएको छ ।
उपमहानगरको बैठकले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रेस संयोजकमा निमुसंगम घर्तीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।उपमहानगरका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिका आर्थिक बर्ष २०७२÷७३ को न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा ९१ अंक प्राप्त गरि देशका नगरपालिकाहरु मध्ये प्रथम स्थान हाशिल गर्न सफल भएकोमा उक्त कार्यमा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण कर्मचारीहरुला विशेष धन्यवाद ज्ञापन गर्दै र आगामी दिनमा थप उर्जा र उत्साहका साथ कार्यसम्पादन गर्ने वातावरण सिर्जना गर्ने निर्णय गरिएको छ ।