काठमाडौँ १७ भदौ । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि यतिखेर प्रदेश २ तातिएको छ । कतिपय दल उम्मेदवारी छनोटका लागि दौडधुपमा लागेका छन् भने कतिपयले घोषणा गरी प्रचारप्रसारमा लागिसकेका छन् । भदौ २१ गते उम्मेदवारी मनोनयन हुने समय तोकिएको छ तर प्रमुख दलहरूले नै अझै उम्मेदवारी टुङ्गो लगाएको छैन ।

inddजिल्लाहरूबाट उम्मेदवारको नामवाली केन्द्रीय कार्यालयमा आइसकेका छन् । त्यसलाई अन्तिम रूप दिन दलका नेताहरू छलफलमा जुटेका छन् । काँग्रेसका नेता विमलेन्द्र निधिले प्राप्त नामावलीमध्येबाट नै उम्मेदवार टुङ्गो लगाउने काम सकिएको र चाँडै सार्वजनिक हुने बताउनुभयो । त्यस्तै, माओवादी केन्द्रले पनि उम्मेदवारको टुङ्गो लगाइसकेको र औपचारिक घोषणा हुन बाँकी छ । त्यस्तै एमालेले पनि एक दुई दिनमै उम्मेदवारको टुङ्गो लाग्ने जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यसरी केन्द्रले उम्मेदवार टुङ्गो लगाउन बाँकी राखे पनि स्थानीय तहका सम्भावित उम्मेदवारहरूले आ–आफ्नो चुनावी क्षेत्रमा चुनावप्रचार तथा घरदैलो कार्यक्रममा लागेको सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले जानकारी गराउनुभयो । तेस्रो चरणमा भइरहेको प्रदेश २ मा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

त्यसमध्ये एउटा मात्र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा चुनावी चहलपहल निकै तातिएको छ । उद्योगी नगरीको रूपमा चिनिएको वीरगन्ज महानगरपालिकामा एक लाख १२ हजार मतदाता छन् । ३२ वटा वडा रहेको सो महानगरपालिकाका लागि अहिलेसम्म फोरम नेपालले मात्र मेयरको नाम घोषणा गरेको छ । उद्योगीको रूपमा परिचित विजय सरावगीलाई मेयरको रूपमा अघि सारिएको छ । उम्मेदवारी घोषणासँगै प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई उहाँले तीव्रता दिनुभएको छ ।