घोराही, १६ भदौ। पाक्षिकरुपमा गरिदै आएको घोराही बजारको सरसफाईलाई विहिबार पनि निरन्तरता दिईएको छ । घोराही उपमहानगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ दाङको अगुवाईमा आज घोराहीमा सरसफाई गरिएको हो ।
narulal chaudhari

आफुले गरेको फोहोर आफै सफा गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पाक्षिकरुपमा बजार क्षेत्रको सरसफाई हुदै आएको छ । नेपाल पत्रकार महासंघको कार्यालयबाट थालिएको सरसफाई तुलसीपुर चोक सम्म गरिएको छ ।

सडक छेउका झारपात सँगै घर तथा पसलबाट सडक सम्म छरिएर रहेका फोहोरहरु संकलन गरेर सफा गरिएको हो । सरसफाई अभियानलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख दुर्गा सिंहले सुरुवात गर्नुभएको हो ।

सरसफाईमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महासंघका केन्द्रिय सचिब उदय जिएम, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल सहित पत्रकार, उद्योगि, व्यापारि, प्रहरी, उपमहानगरका कर्मचारी, ओमशान्तीका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रम पछि उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जस्ले फाहोर गर्छ उसैले सफा गर्ने बानिको बिकास हुन आबस्यक रहेको बताउनुभयो । फोहोर एउटाले गर्ने र सफा अर्को गर्दियोस भन्ने सोच हटाएर आफुले गरेको फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने मेयर चौधरीको भनाई छ ।

अरुको घरघरमा गएर सफा गर्दिनुको अब अर्थ नरहने भन्दै उहाँले सम्बन्धित टोल बिकास संस्था र अन्य सामाजिक संस्थाले संयुक्तरुपमा सरसफाई गर्ने बाताबरण तयार पार्ने बताउनुभयो । अब असोज १ गते गरिने सरसफाई कार्यक्रमको नेतृत्व दाङ जिल्ला उद्योग बाणिज्य संघले गर्ने भएको छ ।