काठमाडौँ, ४ भदौ । नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशन आइतबार काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद् तथा अन्य पत्रकार काठमाडौंँमा भेला भएका छन् ।

fnj1कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आइतबार बिहान सुरु हुने महासङ्घको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने महासङ्घले जनाएको छ । महाधिवेशनले महासङ्घको आगामी तीन वर्षका लागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
व्यावसायिक पत्रकारहरूको संस्था महासङ्घको नयाँ कार्यसमितिको नेतृत्वका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर लगायतका पत्रकारसम्बद्ध सङ्गठन क्रियाशील रहेका छन् ।

महासङ्घमा सबैभन्दा बढी पार्षद् भएको दाबी गर्ने प्रेस चौतारी नेपालले पत्रकार तीर्थ कोइरालाको नेतृत्वमा साना दलका पत्रकार सङ्गठनसँग गठबन्धन गरेर प्यानलसहित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेको जनाएको छ । गोरखापत्रमा खबर छ – नेपाल प्रेस युनियन र प्रेस सेन्टरले साझा उम्मेदवारका रूपमा गोविन्द आचार्य नेतृत्वको समूहलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । दुवै सङ्गठनसँग चौतारीभन्दा बढी पार्षद् रहेको दाबी गरिएको छ । महासङ्घमा एक हजार ५१६ जना पार्षद प्रतिनिधिले मतदान गर्नेछन् ।

महासङ्घले प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । संयोजक खनालका अनुसार आइतबार दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता, अपराह्न ३ः४५ बजे उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः४५ देखि ४ः४५ सम्म उम्मेदवारविरुद्धको दाबी विरोध लगायतका कार्यक्रमसँगै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ ।

त्यस्तै सोमबार भदौ ५ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तय गरिएको संयोजक खनालले जानकारी दिए ।
मतदान प्रक्रिया कमलादीस्थित प्रज्ञा भवनमै हुने भए पनि मतगणना भने तिलगङ्गास्थित पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरिने महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले बताए । मतदान प्रक्रिया सकिएलगत्तै सोमबार साँझदेखि नै मतगणनाको काम अगाडि बढाइनेछ ।

महासङ्घको हरेक तीन वर्षमा महाधिवेशन हुने गरेको छ । महासङ्घको ४७ सदस्यीय नयाँ कार्यसमितिमध्ये अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव छ, कोषाध्यक्ष गरी ११ पदाधिकारी, भौगोलिक र गैरभौगोलिक प्रत्येक प्रदेशबाट ३६ जना सदस्य निर्वाचित हुने विधानमा व्यवस्था छ ।