महोतरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगेर बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो।
गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
औरहीकै स्थानीयबासी १४ वर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले केही दिनदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ। एक वर्ष पहिले गाउँमै आरोपित शिक्षक प्रमोदले ती बालिकालाई ट्युसन पढाउने गरेको र त्यही समयदेखि बालिकालाई ललाइफकाई करणी गर्दै आएको इप्रका गौशालाले जनाएको छ।
कक्षा ८ मा पढ्दै गरेकी ती बालिका साउन १७ गते साँझदेखि घरमा नभेटिएपछि अभिभावकले प्रहरीसमक्ष गुहार गरेका थिए।
प्रहरीले अभिभावकको सहयोगमा बालिकालाई साउन २१ गते उद्धार गरी नेपाल ल्याएको थियो।
बलात्कृत बालिकाको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। यता आरोपित शिक्षकमाथि जबरजस्ती करणी तथा जीउ मास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए। रासस