काठमाडौँ, ७ साउन । नेपालको आन्तरिक बिजुली आपूर्तिमा प्राविधिक खराबी हुँदा र भारतबाट आयात हुने बिजुली कम हुँदा मध्य बर्खामा मध्य तथा सुदूरपश्चिममा लोडसेडिङ हुने भएको छ ।

loadsheddingबाढी, पहिरोले नदी तथा जलाधार क्षेत्रमा आएको ढुङ्गा, माटो तथा अन्य फाहोरपदार्थले निजी क्षेत्रका आयोजनामा क्षति पुगेर विद्युत् आपूर्ति हुन नसक्दा यस क्षेत्रमा एक हप्तासम्म लोडसेडिङ हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रशारण लाइनमा विद्युत् आपूर्ति कम भएकाले मध्य तथा सुदूरपश्चिममा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण केन्द्रका उप प्रवन्धक दिपक धितालले बताए।

केही निजी क्षेत्रका जलविद्युत् आयोजनामा बाढी पहिरोको क्षतिले बन्द गर्नुपर्दा र भारतबाट आउनुपर्ने बिजुली आपूर्तिमा केही समस्या आएकाले कोहलपुर – महेन्द्रनगर प्रशारण लाइनका दोस्रो सर्किट नयाँ भूरीगाउँ सव स्टेशनमा जोड्ने कार्य गर्दा कोहलपुर –लम्की कैलाली १३२ केभी प्रशारण लाइन बन्द गर्नुपर्ने भएकाले सो क्षेत्रमा बिजुली आपूर्ति नभएको उहाँले बताए ।

सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा महेन्द्रनगर –अत्तरिया सव स्टेशन र लम्की सव स्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा दैनिक चार घण्टा लोडसेडिङ हुने केन्द्रले जनाएको छ । महाकाली सन्धि अनुसार टनकपुरबाट प्राप्त गर्नुपर्ने बिजुली पनि प्राप्त हुन नसकेको बताइएको छ ।

टनकपुर प्रशारण लाइनमा केही प्राविधिक समस्या आएपछि भारतबाट आयात हुने करिब ४० मेगावाट बिजुली आपूर्ति ठप्प भएको केन्द्रका उपप्रबन्धक धितालले बताउनुभयो । सो क्षेत्रमा पिक आवरमा ४५ मेगावाट र बिहान र साँझ ३५ देखि ३८ मेगावाट माग भएको तर टनकपुर क्षेत्रबाट अधिकतम् ३२ देखि ३५ मेगावाट मात्र आपूर्ति भएकाले लोडसेडिङ गर्नुपरेको उनको भनाइ छ ।