इन्द्रेणी संवाददाता
दाङ, १४ असार । धेरैले अनुमान गरेका थिए असारको महिना पानी पर्छ अनि आज असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा समस्या हुन्छ । मौसम विधहरुले पनि निर्वाचनको एकदिन अघि मात्रै पनि १४ गते मध्यन्नदेखि वर्षात हुन सक्ने भन्दै समयमै मतदाताहरुलाई मत खसाल्न समेत सुझाव दिएका थिए ।
त्यसैले होला दाङमा मतदाताहरु विहानै मतदान केन्द्रमा छाता लिएर सहभागी भएका थिए । विहान केहीवेर सिमसिम पानी पनि परेको थियो । विहानको सिमसिम पानीमा मतदाताहरुले छाता ओडेर भए पनि मतदान गरेका थिए भने दिउँसो चर्काे घाम लागेको छ । चर्काे घामामा पनि मतदाताहरुलाई लाइनमा छाता ओडनुपरेको छ ।
विहानको पानीमा होस् अथवा दिउँसोको चर्काे घाममा छाता ओडेर भए पनि मतदाताहरुको उत्साजनक सहभागीता छ । अहिलेसम्म जिल्लाका तीन सय ५१ मतदान केन्द्रमा गरी करीव ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
