दाङ १२ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले विप्लव नेतृत्वको नेकपालाई निर्वाचन बिथोल्न नैतिकताले नदिने पनि बताउनुभयो । रोल्पाको थवाङमा विप्लव समूह पनि चुनावमा सहभागी हुनुलाई सकारात्मक भन्दै उहाँले भन्नुभयो, ‘विप्लवले निर्वाचन बिथोल्न अब नैतिकरुपमा मिल्दैन । किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने यो हुन सक्दैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता महन्थ ठाकुरको सहभागितामा बसेको बैठकमा निर्वाचनको मिति सार्ने र राजपाले स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको मन्त्री शर्माले जानकारी दिनुभयो । संविधान संशोधनमा सरकार लचक भएरै चुनाव सारिएको भन्दै मन्त्री शर्माले भन्नुभयो, ‘राजपाको सहभागिताले निर्वाचन झन् उत्साहपूर्ण र सहज हुन्छ ।’
