जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने , सेवा सुविधाका लागि ३५ लाख निकासा
काठमाडौं ८ असार । काठमाडौं महानगरबासीले झण्डै २० वर्षपछि जनप्रतिनिधि पाए । जनप्रतिनिधि हुँदा विकास निर्माण तथा आफ्ना दैनिक समस्या सम्बोधन होला भन्ने भनेर आफ्नो मनले खाएका उम्मेदवारलाई जिताएर पठाए ।
चुनाव जित्नुअघिसम्म ठुल्ठुला जनपक्षीय नाराहरु अघि सारेका नेताहरुले महानगरपालिकाको बैठकबाट अलोकप्रिय निर्णयहरु गर्न थालेका छन् । महानगरका जनप्रतिनिधिले भने आफ्ना लागि मोबाइल फोन किन्ने निर्णय गरेको पाइएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।
त्यो रकममा त मोबाइल खरिद पनि समावेश रहेछ । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई आफूले रोजेको मोबाइल किन्ने छुट दिइएको छ । उनीहरुले मोबाइल किनेर बिल पेश गरेपछि रकम पाउनेछन् ।
नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भएको छ । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुन्छ । मेयर र उपमेयरले किन्ने मोबाइलको खर्च छुट्टै हुनेछ ।
मोबाइल किन्ने निर्णय गर्नु भएछ नि भन्ने प्रश्नमा उपमेयर हरिप्रभा खड्गीले भनिन्, ‘वडाध्यक्षहरु हामीभन्दा पनि व्यस्त हुन्छन्, मोबाइल त चाहिहाल्यो नि ।’
महानगरले मोबाइलमात्रै किन्ने निर्णय गरेको होइन कि मेयर र उपमेयरले बिल बमोजिम मोबाइल खर्चसमेत पाउनेछन् । नगर कार्यपालिका सदस्यलाई मासिक रुपमा २५ सय टेलिफोन खर्च दिने निर्णयसमेत भएको छ ।
मेयर र उपमेयरलाई १५०० बैठक भत्ता
काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि १५ सय बैठक भत्ता दिने निर्णय पनि गरेको छ । साथै नगर कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुलाई १ हजार तोकिएको छ । यो नगर कार्यपालिकाको बैठक बस्दा मात्र पाइनेछ ।
बैठकमा आउँदा १ हजार यातायात खर्च पनि दिइनेछ । तर, महानगरबाट कुनै सवारी सुविधा लिएको भए यातायात खर्च नदिइने महानगरपालिकाले बताएको छ । अनलाइन खबरबाट साभार
