पाण्डव शर्मा
दाङ, २ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनले केन्दैको सत्ता गाउँमा फर्किएको बताएका छन् ।
माओवादी केन्द्रले घोराही वडा नम्मर १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमा बोल्दै उनले यो निर्वाचन विगतमा जस्तो जनप्रतिनिधि छान्ने मात्र नभएको बताए ।
महराले अहिलेका जनप्रतिनिधिहरुले सरकार सरह स्थानीय तहमा नीति निर्माण तथा बजेट खर्च गर्न सक्ने जानकारी दिए । ‘हामीले सिंहदरवारको अधिकार गाउँमा ल्याएका छौं, सिंहदरवारको वरिपरि बस्नेहरुलाई यो मन परिरहेको छैन,’ महराले भने, ‘माओवादीको संघर्षका कारण जनताले बास्तविक सत्ता प्राप्त गरेका छन्, यसको रक्षा गर्नु अहिलेको अवाश्यकता हो ।’
स्थानीय तहको निर्वाचनमा केही शक्तिहरु पैशाको बलमा निर्वाचन जित्ने प्रयत्तन्न गरिरहेको उल्लेख गर्दे महराले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पैशाको बलमा चुनाव जित्ने पञ्चायकालिन शैली अपनाउने काम भएको छ, अहिले जनता निकै सचेत भइसकेका छन्, पैशामा कोहि विक्नेवाला छैन,’ उनले भने । दाङको विकास र समृद्धिका लागि आँफूले केन्द्रमा रहेर निरन्तर पहल गरिरहेको उल्लेख गर्दै महराले दाङका एमाले तथा कांग्रेसका नेताहरुले पनि आँफूलाई बजेटका लागि आग्रह गर्ने गरेको जानकारी दिए ।
‘मेरो पार्टी माओवादी भए पनि म सबैको साझा बन्न चाहन्छु, मेरा लागि सबै पार्टीका नेता समान हुन्छन्, विकासमा राजनीति गर्नुहुँदैन भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘मेरो पहलमा धेरै बजेट विनियोजन भइरहेको छ, अन्य पार्टीका साथिहरु त्यसमा जस लिन हतार गर्नुहुन्छ, जुन पार्टीले जस लिए पनि यहाँको विकासका लागि सबै एक हुनै पर्छ ।’
स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुशीको कुरा भएको उल्लेख गर्दै महराले एजेण्डाको आधारमा माओवादीले विजयी हासिल गरिसकेको बताए । प्राविधिकरुपमा जुन पार्टीको उम्मेदवार विजयी भए पनि माओवादीको एजेण्डा सफल भएको उनको भनाई छ । मधेशवादी दलहरुलाई पनि सहमतिमा लिएर मुलुकलाई निकास दिनको लागि दुई नम्मवर प्रदेशको निर्वाचन सारिएको महराले बताए ।
‘निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले यसलाई त्यति ठूलो बनाउनुहुँदैन,’ उनले भने, ‘सारिएको मिति भित्र प्रमुख प्रतिपक्षि दल नेकपा एमाले र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिने छ ।’
परराष्ट्रमन्त्री समेत रहनुभएका उपप्रम महराले नेपालले छिमेकी मुलुकहरुबीच सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने जानकारी दिए । छिमेकका दुई ठूला मुलुक चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनको भनाई थियो । आँफू अर्थमन्त्री हुँदा दाङका ठूला योजना सम्पन्न गर्न उल्लेख्य बजेट विनियोजन भएको जानकारी दिदै महराले त्यसको सदूपयोगका लागि यहाँका जनताले खवरदारी गर्नुपर्ने आवश्यकता औंल्याए । उनले यस क्षेत्रको विकासका लागि आँफूले निरन्तर पहल गर्ने जानकारी दिए ।