काठमाडौं, २३ जेठ । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनुभन्दा एक दिन अघिनै सर्वोच्च अदालतबाट बिदा भएकी छिन्।
आज मंगलबार बिहान साढे एघार बजे सर्वोच्चका अन्य न्यायाधिशहरुसँग औपचारिक रुपमा बिदा लिएर उनी घरतिर लागेको सर्वोच्च स्रोतले जनाएको छ । २४ जेठ बुधबारसम्म कार्यकाल बाँकी रहेकी कार्की विना तामझाम कार्यक्रममा खादा पनि नलाएर सर्वोच्च छोडेकी छिन् ।प्रधानन्यायाधीश कार्की बाहिरिएपछि वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्ने छन्।
यद्यपी कार्कीले आफू जाँदाजाँदै प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाममा भने पराजुलीलाई पनि पारेर गएकी छिन्। न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्माको सो सूची कार्कीले संवैधानिक परिषदमा पठाएकी छिन्।